सुनसरी,११ साउन – सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा बोलबम यात्राका क्रममा झण्डा राख्ने र डिजे बजाउने विषयमा दुई समुदायबीच भएको हिंसात्मक झडपपछि अवस्था तनावग्रस्त बनेको छ। घटनापछि प्रहरीले चलाएको गोली लागेर २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ भने नौ जनाभन्दा बढी स्थानीय घाइते भएका छन्। घटनामा १३ जना सुरक्षाकर्मी पनि घाइते भएका छन्।
स्थिति नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले देवानगञ्ज क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु जारी गरेको छ। त्यसपछि सदरमुकाम इनरुवालगायतका क्षेत्रमा पनि विरोध प्रदर्शन चर्किएपछि प्रशासनले दक्षिणी सुनसरीका विभिन्न स्थानमा कर्फ्यु आदेश लागू गरेको छ। हरिनगरा बजार, भुटाहा, कप्तानगञ्ज, घुस्की र देवानगञ्ज बजार क्षेत्र कर्फ्युको दायरामा परेका छन्।
प्रदर्शनका क्रममा इनरुवाको गोलचोकस्थित प्रहरी बिटमा तोडफोड तथा आगजनी भएको जनाइएको छ। त्यसपछि सुरक्षा व्यवस्था थप कडा पार्दै नेपाली सेनाको टोली बख्तरबन्द गाडीसहित प्रभावित क्षेत्रमा परिचालन गरिएको छ।
घटनापछि सुरक्षा अवस्थाबारे छलफल गर्न सोमबार केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ। त्यस्तै, इनरुवामा सर्वदलीय तथा सर्वपक्षीय बैठक पनि सम्पन्न भएको छ। काठमाडौंमा गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा बसेको बैठकले घटनाको छानबिनका लागि गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा समिति गठन गर्ने निर्णय गरेको छ।
प्रहरीका अनुसार आइतबार राति करिब १०:१५ बजे साउन महिनाको बोलबम यात्राका लागि श्रद्धालुहरू कोशी ब्यारेजबाट जल लिएर डिजे बजाउँदै कप्तानगञ्ज चोकतर्फ जाँदै थिए। सो क्रममा अर्को समुदायका केही व्यक्तिले चर्को आवाजमा डिजे नबजाउन आग्रह गरेपछि दुवै पक्षबीच भनाभन सुरु भएको थियो।
विवाद बढ्दै जाँदा दुवै समुदायका थप व्यक्तिहरू भेला भई ढुंगा, लाठी, बाँस, चिर्पट तथा अन्य सामग्री प्रयोग गर्दै झडपमा उत्रिएको प्रहरीले जनाएको छ। प्रहरी चौकी कप्तानगञ्जबाट प्रहरी निरीक्षक प्रकाशकुमार श्रेष्ठको नेतृत्वमा पुगेको टोलीले दुवै पक्षलाई सम्झाउने प्रयास गरेको थियो।
प्रहरीका अनुसार स्थिति नियन्त्रणका लागि प्रारम्भमा अश्रुग्यास प्रहार र हवाई फायर गरिएको थियो। त्यसबाट पनि अवस्था नियन्त्रणमा नआएपछि तथा बजार क्षेत्रमा घर, मेडिकल, सवारीसाधन र अन्य संरचनामा तोडफोड तथा आगजनी हुन थालेपछि बाध्य भएर गोली चलाइएको जनाएको छ।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।




