काठमाडौं,११ साउन । चर्चित गायक तथा बालकलाकार अशोक दर्जीसँग जोडिएको एउटा भिडियो सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल भइरहेको छ।
भिडियोमा केही व्यक्तिले उनलाई घेरेर दुर्व्यवहार गरेको देखिएको भन्दै विभिन्न दाबीहरू भइरहेका छन्।
भिडियोमा एक व्यक्तिले ‘अरूको पैसा कहिले तिर्छस्?’ भन्दै प्रश्न गरेको आवाज स्पष्ट रूपमा सुनिन्छ। उक्त दृश्य सार्वजनिक भएपछि सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया देखिएको छ। धेरै शुभचिन्तकले घटनाप्रति चिन्ता व्यक्त गरेका छन् भने केहीले भिडियोको सत्यता र पृष्ठभूमिबारे प्रश्न उठाएका छन्।
यद्यपि, भिडियो कहिले र कहाँ खिचिएको हो, त्यसको वास्तविक कारण के हो भन्ने विषयमा हालसम्म कुनै आधिकारिक पुष्टि भएको छैन। अशोक दर्जी, उनका परिवार वा सम्बन्धित निकायबाट पनि यसबारे औपचारिक प्रतिक्रिया सार्वजनिक गरिएको छैन।
सङ्घर्षपूर्ण यात्रामार्फत नेपाली संगीत क्षेत्रमा परिचित बनेका अशोक दर्जी पछिल्लो समय अध्ययनसँगै संगीत र अभिनयमा सक्रिय छन्। केही समयअघि उनले आफू कक्षा ११ मा अध्ययनरत रहेको र नयाँ चलचित्र ‘पार्वती’ मा अभिनय गरिरहेको जानकारी दिएका थिए।
भिडियो भाइरल भएसँगै विभिन्न अड्कलबाजी भइरहे पनि घटनाको वास्तविकता खुल्न बाँकी रहेकाले आधिकारिक जानकारी नआउँदासम्म अपुष्ट दाबीमा विश्वास नगर्न आग्रह गरिएको छ।




