काठमाडौं, १२ साउन । चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भइरहेका दुर्व्यवहार, कुटपिट तथा एकतर्फी कारबाहीको विरोधमा नेपाल चिकित्सक सङ्घले आज देशभरका अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा बहिरङ्ग (ओपिडी) सेवा बन्द गरेको छ।
सङ्घका अनुसार स्वास्थ्यकर्मीले सुरक्षित र भयरहित वातावरणमा निर्बाध रूपमा काम गर्न पाउनुपर्ने मागसहित यो आन्दोलन गरिएको हो। ‘सम्मानले निको पार्छ, हिंसाले चोट पुर्याउँछ’ भन्ने नारासहित स्वास्थ्य क्षेत्रमा हुने हिंसाप्रति शून्य सहनशीलताको नीति लागू गर्न सरकार र सम्बन्धित निकायलाई दबाब दिन ओपिडी सेवा स्थगित गरिएको नेपाल चिकित्सक सङ्घका केन्द्रीय सदस्य डा. राकेश शाहले जानकारी दिए।
ओपिडी सेवा बन्द हुँदा देशभरका सरकारी तथा निजी अस्पतालमा नियमित उपचारका लागि आउने सेवाग्राही प्रभावित हुने भएका छन्। यद्यपि, आकस्मिक (इमरजेन्सी) सेवा भने पूर्ववत् रूपमा सञ्चालन हुने सङ्घले स्पष्ट पारेको छ।
हालै वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत एक बिरामीको मृत्युको घटनापछि चिकित्सकमाथि भएको आक्रमण तथा त्यसपछि केही स्वास्थ्यकर्मीलाई छानबिनका नाममा निलम्बन र कामबाट रोक लगाइएको घटनाले चिकित्सक समुदायमा असन्तुष्टि बढाएको छ। यही घटनालाई आन्दोलनको प्रमुख कारणका रूपमा हेरिएको छ।
चिकित्सकहरूले कार्यस्थलमा सुरक्षा सुनिश्चित गर्न, स्वास्थ्यकर्मीमाथि हुने हिंसाको अन्त्य गर्न तथा एकतर्फी रूपमा गरिएको निलम्बन फिर्ता लिन सरकारसँग माग गरेका छन्।
यसैबीच, पछिल्लो परिस्थितिको समीक्षा तथा आगामी आन्दोलनको रणनीति तय गर्न नेपाल चिकित्सक सङ्घले आज दिउँसो २ बजे आफ्नो केन्द्रीय कार्यालयमा आपत्कालीन बैठक बोलाएको छ। उक्त बैठकबाट थप आन्दोलनका कार्यक्रम सार्वजनिक हुन सक्ने सङ्घले जनाएको छ।




