spot_img

असार मसान्तसम्म खपत भएको विद्युतमा भ्याट नलाग्ने, बढी असुली रकम आगामी बिलमा समायोजन हुने

spot_img
spot_img

काठमाडौं,१२ साउन । नेपाल विद्युत प्राधिकरणले गत असार मसान्तसम्म खपत भएको विद्युतमा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने स्पष्ट पारेको छ। यसअघि भ्याटसहित जारी गरिएका बिलबारे उपभोक्तामा उत्पन्न भएको अन्योल अन्त्य गर्दै प्राधिकरणले भुक्तानी भइसकेको भ्याट रकम आगामी भदौ महिनाको विद्युत बिलमा समायोजन गरिने जनाएको छ।

प्राधिकरणका अनुसार आन्तरिक राजस्व विभाग र ठूला करदाता कार्यालयको स्पष्ट निर्देशनपछि असार मसान्तसम्मको विद्युत खपतमा भ्याट नलाग्ने व्यवस्था लागू गरिएको हो। यस अवधिमा उपभोक्ताबाट असुल गरिएको भ्याट रकम अग्रिम भुक्तानीका रूपमा गणना गरी आगामी बिलमा घटाइनेछ।

असारमा खपत भएको विद्युतको बिल साउनमा जारी हुँदा आर्थिक ऐन, २०८३ अनुसार भ्याट लागू हुने वा नहुने विषयमा अन्योल देखिएको थियो। सोही कारण प्राधिकरणले साउन ८ गते आन्तरिक राजस्व विभागसँग औपचारिक रूपमा स्पष्टिकरण मागेको थियो।

आन्तरिक राजस्व विभागले सोमबार जारी गरेको सूचनामार्फत असार मसान्तसम्मको विद्युत खपतमा भ्याट नलाग्ने स्पष्ट पारेको छ। यद्यपि, साउन १ गतेदेखि हुने विद्युत खपतमा भने प्रचलित कानुनअनुसार भ्याट लाग्ने विभागले जनाएको छ। यसअन्तर्गत विद्युतको न्यूनतम (डिमाण्ड) शुल्कमा समेत भ्याट लागू हुनेछ।

मूल्य अभिवृद्धि कर ऐनअनुसार अन्तिम उपभोक्ताका लागि पाँच प्रतिशत र अन्य उपभोक्ताका हकमा १३ प्रतिशत भ्याट लाग्ने व्यवस्था रहेको छ।

यसअघि प्राधिकरणले असार मसान्तसम्मको खपतमा समेत भ्याट जोडेर बिल पठाएपछि उपभोक्ताबाट व्यापक गुनासो आएको थियो। त्यसपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले चासो देखाउँदै सम्बन्धित निकायसँग समन्वय गरी समस्या समाधानका लागि पहल गरेका थिए।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय