विराटनगर,१२ साउन । सुनसरी जिल्लामा जारी गरिएको अनिश्चितकालीन कर्फ्यु आदेश हटाइएको छ। जिल्ला प्रशासन कार्यालय, सुनसरीले मंगलबार सूचना जारी गर्दै साउन ११ गते राति ९ बजेदेखि लागू गरिएको कर्फ्यु आज बिहान १२:१५ बजेदेखि हटाइएको जनाएको हो।
प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालद्वारा जारी सूचनाअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम लागू गरिएको कर्फ्यु हटाइएसँगै तोकिएको क्षेत्रमा आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा तथा अन्य गतिविधिमाथिको प्रतिबन्ध पनि समाप्त भएको छ।
यसअघि केन्द्रीय सुरक्षा समितिको निर्णयपछि इनरुवा नगरपालिका–३ र ६ को पूर्वी सीमा, महेन्द्र राजमार्गअन्तर्गत घोपाली टोलदेखि पश्चिमतर्फ कोशी ब्यारेजको पुलसम्म तथा राजमार्गको उत्तर–दक्षिण २०० मिटर क्षेत्रलाई समेटेर कर्फ्यु आदेश जारी गरिएको थियो।
देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार राति हिन्दु र मुस्लिम समुदायबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर ३० वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएपछि सुरक्षा अवस्था तनावग्रस्त बनेको थियो। त्यसपछि सम्भावित थप हिंसा रोक्न प्रशासनले कर्फ्यु लागू गरेको थियो।
प्रशासनका अनुसार अहिले सुरक्षा अवस्था नियन्त्रणमा आएकाले कर्फ्यु हटाइएको हो। यद्यपि, जिल्लाको शान्ति–सुरक्षा कायम राख्न सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको जनाएको छ।




