जनकपुर,१२ साउन । मिटरब्याज पीडितहरूको आन्दोलन जारी रहेका बेला लगानीकर्ता पक्ष पनि आन्दोलनमा उत्रिएको छ। ‘लगानीकर्ता लेनदेन पीडित सङ्घर्ष समिति’को ब्यानरमा संगठित उनीहरूले मंगलबार जिल्ला प्रशासन कार्यालय धनुषामा प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएका छन्।
ज्ञापनपत्र बुझाउन प्रशासन कार्यालय पुगेका आन्दोलनकारीहरूले विभिन्न नारासहित प्रदर्शन गर्दै सरकारको ध्यानाकर्षण गराएका थिए। उनीहरूले मिटरब्याज पीडित सङ्घर्ष समितिसँग सरकारले गरेको ९ बुँदे सम्झौता खारेज गर्नुपर्ने मागसमेत अघि सारेका छन्।
जिल्ला प्रशासन कार्यालय धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता भुदेव झाले सङ्घर्ष समितिका प्रतिनिधिले प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र बुझाएको पुष्टि गरे। उनका अनुसार यो कार्यक्रम देशव्यापी आन्दोलनअन्तर्गत सञ्चालन गरिएको हो।
सङ्घर्ष समितिले देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई आफ्ना मागहरू प्रस्तुत गर्ने कार्यक्रम तय गरेको जनाएको छ। मिटरब्याजसम्बन्धी विवादमा पीडित र लगानीकर्ता दुवै पक्ष सडक आन्दोलनमा उत्रिएपछि यस विषयले नयाँ मोड लिएको छ।




