काठमाडौं,१२ साउन । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता नवीकरण तथा अनुमोदन प्रक्रिया साउन १४ गतेभित्र सम्पन्न गर्न मातहतका सबै समितिलाई निर्देशन दिएको छ।
सोमबार ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा बसेको बैठकले नयाँ सदस्यता आवेदन र नवीकरणको कार्य तोकिएको समयभित्र सक्ने निर्णय गरेको हो।
निर्णयअनुसार प्रतिनिधिसभा क्षेत्र र वडा तहमा वडा सभापतिमार्फत प्राप्त नयाँ क्रियाशील सदस्यता आवेदन तथा अनलाइनमार्फत भरिएका आवेदन साउन १४ गतेभित्र अनुमोदन गरिसक्नुपर्नेछ। त्यस्तै, पालिका र प्रतिनिधिसभा क्षेत्रले मातहतबाट आएका आवेदन प्राप्त भएको तीन दिनभित्र अनुमोदन गर्नुपर्ने व्यवस्था गरिएको छ।
बैठकले भातृ तथा शुभेच्छुक संस्था, इन्टरनेट पहुँच कम भएका उच्च हिमाली तथा दुर्गम पहाडी जिल्लाका अद्यावधिक हुन छुटेका सदस्यहरूको विवरण एक्सेल फारममार्फत केन्द्रमा पठाउने निर्णय पनि गरेको छ। यस्ता विवरण साउन १५ गतेभित्र केन्द्रमा बुझाउनुपर्ने र त्यसपछि केन्द्रले सदस्यता अद्यावधिक गर्नेछ।
यस्तै, डिजिटल प्रणालीमार्फत सदस्यता अद्यावधिक गर्न नसकेका तहका सभापतिका लागि वैकल्पिक व्यवस्था गर्दै केन्द्रीय प्रतिनिधिको सिफारिसमा सभापति तोक्ने र त्यसलाई केन्द्रीय कार्यसमितिबाट अनुमोदन गराउने निर्णय गरिएको छ।
बैठकले विभिन्न कारणले सदस्यता अद्यावधिक गर्न छुट भएका सदस्यको हकमा पनि केन्द्रीय प्रतिनिधिको सिफारिसका आधारमा केन्द्रबाटै सदस्यता अद्यावधिक गर्ने निर्णय गरेको छ।
साथै, कुनै वडामा क्रियाशील सदस्य संख्या ४० भन्दा कम र ३५ वर्षमुनिका सदस्य पाँच जनाभन्दा कम भएमा केन्द्रीय प्रतिनिधिको सिफारिसमा केन्द्रबाटै नयाँ क्रियाशील सदस्यता प्रदान गर्ने व्यवस्था समेत गरिएको छ।




