काठमाडौं,१२ साउन । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय तथा विभिन्न मन्त्रालयमा ठूलो संख्यामा सल्लाहकार नियुक्त गर्ने अभ्यासप्रति असन्तुष्टि जनाएका छन्।
सोमबार अर्थ मन्त्रालयमा आयोजित वार्षिक राजस्व समीक्षा बैठकलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री कार्यालय र ऊर्जा मन्त्रालयमा रहेका सल्लाहकारहरूको संख्या उल्लेख गर्दै व्यंग्यात्मक टिप्पणी गरेका हुन्।
उनले अनावश्यक रूपमा धेरै सल्लाहकार नियुक्त गर्दा राज्यकोषमा अतिरिक्त आर्थिक भार पर्ने भन्दै यस्तो प्रवृत्तिमाथि प्रश्न उठाए। सरकारको स्रोत–साधनको सदुपयोग हुनुपर्नेमा उनले जोड दिए।
सम्बोधनका क्रममा अर्थमन्त्री वाग्लेले प्रधानमन्त्री कार्यालयमा २७ जना र ऊर्जा मन्त्रालयमा २० जना सल्लाहकार कार्यरत रहेको उल्लेख गरे। त्यसको तुलना गर्दै आफूले भने एकजना मात्रै अवैतनिक राजस्व सल्लाहकार नियुक्त गरेको जानकारी दिए।
उनले भने, “प्रधानमन्त्री कार्यालयमा २७ जना र ऊर्जा मन्त्रालयमा २० जना सल्लाहकार रहेको कुरा तपाईंहरूले सुन्नुभएको छ। तर मैले राजस्वको विषयलाई प्राथमिकता दिँदै केवल एकजना अवैतनिक राजस्व सल्लाहकार मात्र राखेको छु। यसबाट पनि मैले राजस्वलाई कति महत्त्व दिएको छु भन्ने बुझ्न सक्नुहुन्छ।”




