काठमाडौं,१२ साउन । धनुषाको विदेह नगरपालिका–५ का तत्कालीन वडाध्यक्ष विजयकुमार यादवविरुद्ध भारत सरकारले उपहारस्वरूप उपलब्ध गराएको एम्बुलेन्सको दुरुपयोग गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यादवले वडाबासीलाई निःशुल्क सेवा दिने उद्देश्यले प्राप्त एम्बुलेन्सलाई सरकारी अभिलेखमा दर्ता नगरी ३ वर्ष ५ महिनासम्म निजी सम्पत्तिसरह सञ्चालन गर्दै भाडा असुलेको निष्कर्ष निकाल्दै विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।
आयोगका अनुसार यादवले २०७७ असोज १४ गते भारतीय राजदूतावाससँगको सम्झौताअनुसार वडाबासीको निःशुल्क सेवाका लागि एम्बुलेन्स प्राप्त गरेका थिए। तर, उक्त एम्बुलेन्स वडा कार्यालयको जिन्सी अभिलेखमा आम्दानी नबाँधी आफ्नै नियन्त्रणमा राखेर निजी सवारी साधनझैँ प्रयोग गरेको अनुसन्धानबाट खुलेको छ।
अख्तियारले ३ वर्ष ५ महिनाको अवधिमा एम्बुलेन्स ३० हजार १८५ किलोमिटर सञ्चालन गरिएको भए पनि त्यसको लगबुक, इन्धन खर्च तथा आम्दानीसम्बन्धी कुनै आधिकारिक अभिलेख नराखिएको जनाएको छ। आयोगका अनुसार एम्बुलेन्स व्यक्तिगत लाभका लागि प्रयोग गरिएको पुष्टि भएको छ।
नेपाल रेडक्रस सोसाइटी धनुषाले निर्धारण गरेको कच्ची सडकको भाडादरका आधारमा गणना गर्दा यादवले सार्वजनिक सम्पत्तिमा १५ लाख ९ हजार २५० रुपैयाँ बराबरको हानी–नोक्सानी पुर्याएको अख्तियारको दाबी छ।
अनुसन्धानका क्रममा कानुनी कारबाहीबाट बच्न उनले ३ लाख ८१ हजार ५९७ रुपैयाँ बुझाए पनि अझै ११ लाख २७ हजार ६५३ रुपैयाँ असुल गर्नुपर्ने देखिएको आयोगले जनाएको छ।
अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार यादवविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत बिगो बराबर जरिवाना, कैद सजाय तथा बाँकी बिगो रकम असुलउपरको मागसहित मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको हो।




