काठमाडौं,१२ साउन । त्रिभुवन विश्वविद्यालयको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र चुहावट प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले थप दुई जनालाई पक्राउ गरेको छ।
सीआईबीका अनुसार पक्राउ पर्नेमा रौतहटको राजदेवी नगरपालिका–४ का २५ वर्षीय अतुल कुमार मिश्र र बाराको लिपनीमाल–१ स्थायी घर भई हाल पर्साको वीरगञ्ज महानगरपालिका–२१ बस्दै आएका ३१ वर्षीय अब्दुल सानि हाकिम रहेका छन्।
प्रहरीका अनुसार मिश्रलाई साउन १० गते काठमाडौं महानगरपालिका–१३, ताहाचलबाट र हाकिमलाई साउन ११ गते वीरगञ्ज महानगरपालिका–८ बाट पक्राउ गरिएको हो।
यो प्रकरण त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सेमेस्टरको एमजीटी ५१५ (Organizational Behavior) विषयको प्रश्नपत्र साउन ८ गते विभिन्न ह्वाट्सएप समूहमा सार्वजनिक भएपछि बाहिर आएको थियो। त्यसलगत्तै सीआईबीले शिक्षा ऐन, २०२८ अन्तर्गत प्रश्नपत्रको गोपनीयता भंगसम्बन्धी कसूरमा अनुसन्धान अघि बढाएको थियो।
प्रहरीले पक्राउ परेका दुवै जनामाथि अदालतबाट म्याद थप गरी अनुसन्धान जारी राखेको जनाएको छ। साथै, प्रश्नपत्र चुहावटमा अन्य व्यक्ति वा समूहको समेत संलग्नता रहेको हुन सक्ने भन्दै त्यसतर्फ पनि विस्तृत अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।




