चितवन,१२ साउन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ खहरे खोलानजिक खसेको सुक्खा पहिरो हटाइएपछि सडकमा दुईतर्फी सवारी आवागमन पुनः सञ्चालनमा आएको छ।
आज बिहान करिब ८ः३० बजे करिब ४० मिटर माथिबाट ढुङ्गासहितको सुक्खा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार पहिरो हटाउने कार्य सम्पन्न भएपछि दिउँसो १ः१५ बजेदेखि सडक दुवैतर्फ सञ्चालनमा ल्याइएको हो।
यसअघि बिहान ११ः१५ बजेदेखि एकतर्फी रूपमा सडक खुलाएर एम्बुलेन्स तथा मोटरसाइकललाई प्राथमिकताका साथ आवागमन गराइएको थियो।
पहिरो हटाउन नारायणगढ र मुग्लिन दुवैतर्फबाट लोडर, स्काभेटर तथा ब्याकहो परिचालन गरिएको प्रहरीले जनाएको छ।
सडक सञ्चालनमा आएपछि पहिरोका कारण रोकिएका सवारीसाधन गन्तव्यतर्फ प्रस्थान गरिसकेका छन्।




