बीरगन्ज,१२ साउन । पर्साको बीरगन्ज महानगरपालिका–२६ सुगौलीबिर्तामा निर्माणाधीन कल्भर्टको खाल्डोमा जमेको पानीमा डुबेर एकै परिवारका दुई बालिकाको दुःखद मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार स्थानीय प्रभु ठाकुरकी ५ वर्षीया छोरी पुचकी ठाकुर र ३ वर्षीया छोरी घघरी ठाकुरको ज्यान गएको हो।
प्रहरीका अनुसार सोमबार साँझ घरबाहिर खेलिरहेका दुवै बालिका अचानक सम्पर्कविहीन भएपछि परिवारले आफन्त र छिमेकमा खोजी गरेका थिए। साँझ नै बालिकाहरू हराएको जानकारी प्रहरीलाई समेत गराइएको थियो।
खोजीको क्रममा मङ्गलबार बिहान सुगौलीबिर्ताबाट खेततर्फ जाने चक्रगह क्षेत्रमा निर्माणाधीन कल्भर्टको खाल्डोमा जमेको पानीभित्र दुवै बालिकाको शव फेला परेको प्रहरीले जनाएको छ।
दुवै बालिकाको शव पोस्टमार्टमका लागि वीरगञ्जस्थित नारायणी अस्पताल पठाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
घटनापछि सुगौलीबिर्ता गाउँ शोकमा डुबेको छ। स्थानीयवासीले निर्माणाधीन कल्भर्ट वरिपरि आवश्यक सुरक्षा घेरा वा चेतावनी संकेत नराखिएको कारण यस्तो दुःखद घटना भएको भन्दै सम्बन्धित निकायको लापरवाहीप्रति गम्भीर प्रश्न उठाएका छन्।




