spot_img

चिकित्सकहरूको राजीनामापछि नारायणी अस्पतालको सेवा प्रभावित, स्थानीय प्रहरी प्रशासनकाे भुमिकामाथी समेत प्रश्न चिन्ह खडा

spot_img
spot_img

वीरगञ्ज,१२ साउन — वीरगञ्जस्थित नारायणी अस्पतालमा भएको घटनापछि अस्पताल प्रशासनमाथि विभिन्न प्रश्न उठिरहेका बेला अस्पतालभित्र नेतृत्व परिवर्तनको प्रयाससमेत भइरहेको आरोप सार्वजनिक भएको छ।

सोमबार राति अस्पतालका कम्तीमा ६५ जना चिकित्सकले सामूहिक रूपमा पदबाट राजीनामा दिएपछि अस्पतालको ओपिडी सेवा तथा आकस्मिक सेवासमेत प्रभावित भएको छ।

स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा चिकित्सकहरूको आन्दोलन चाँडै अन्त्य हुनुपर्ने आम नागरिकको अपेक्षा रहे पनि आन्दोलनरत चिकित्सकहरूले कार्यस्थलमा पर्याप्त सुरक्षा सुनिश्चित नभएसम्म काममा फर्किन नसकिने अडान लिएका छन्। उनीहरूले अस्पतालमा कार्यरत चिकित्सक तथा कर्मचारीको सुरक्षाप्रति स्थानीय प्रशासन र प्रहरी गम्भीर नभएको आरोप लगाएका छन्।

यसबीच अस्पतालभित्रको पछिल्लो घटनाक्रमलाई लिएर विभिन्न राजनीतिक तथा स्वार्थ समूह सक्रिय भएको चर्चा पनि चलेको छ। केही चिकित्सकहरूले नारायणी अस्पतालको नेतृत्व परिवर्तन गर्ने उद्देश्यले समेत गतिविधि भइरहेको दाबी गरेका छन्। यद्यपि, यसबारे सम्बन्धित निकायबाट आधिकारिक पुष्टि भएको छैन।

चिकित्सकहरूको एक समूहले घटनाको निष्पक्ष छानबिनका लागि नेपाल मेडिकल काउन्सिलको केन्द्रीय टोलीबाट अनुसन्धान हुनुपर्ने माग गरेको छ।

सोमबार विवाद समाधानका लागि प्रयास भइरहेका बेला जिल्ला प्रशासन कार्यालय, पर्सामा भेला भएका चिकित्सकहरूमाथि जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक सुदीप राज पाठकको निर्देशनमा बल प्रयोग र धक्कामुक्की भएको आरोपसमेत चिकित्सकहरूले लगाएका छन्। उक्त घटनापछि विवाद झन् चर्किएको बताइएको छ। उनकाे भुमिकामाथी समेत प्रश्न चिन्ह खडा भएकाे छ ।

घटनापछि केही चिकित्सकहरूले पर्साका प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकको राजीनामासमेत माग गरेका थिए। अर्कोतर्फ, स्थानीय प्रशासनका समर्थकहरूले चिकित्सकहरूको अभिव्यक्तिले तनाव बढाएको आरोप लगाएका छन्।

स्थानीय प्रशासनले समस्या समाधानका लागि प्रभावकारी भूमिका खेल्न नसकेको आरोपसमेत उठिरहेको छ। घटनाबारे प्रतिक्रिया लिन खोज्दा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले चिकित्सकहरूको सुरक्षाप्रति प्रशासन गम्भीर रहेको अनौपचारिक रूपमा बताए पनि औपचारिक प्रतिक्रिया दिन अस्वीकार गरे। उनले यस विषयमा प्रमुख जिल्ला अधिकारीसँग नै प्रतिक्रिया लिन सुझाव दिएका थिए। प्रमुख जिल्ला अधिकारीसँग सम्पर्क गर्ने प्रयास भने सफल हुन सकेन।

यस्तै, नारायणी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चितरञ्जन साहले चिकित्सकहरूलाई काममा फर्काउने प्रयास भइरहेको जानकारी दिए। तर उनले यस विषयमा औपचारिक प्रतिक्रिया दिन चाहेनन्।

वीरगञ्जको नारायणी अस्पतालबाट सुरु भएको चिकित्सकहरूको आन्दोलनको प्रभाव देशभरका सरकारी अस्पतालहरूमा पनि देखिएको छ। आकस्मिक सेवा बाहेकका स्वास्थ्य सेवाहरू प्रभावित भएका छन्।

यसैबीच, घटनाको छानबिनका लागि नेपाल मेडिकल काउन्सिलको टोली काठमाडौंबाट वीरगञ्ज पुगेको स्रोतले जनाएको छ। टोलीले सम्बन्धित पक्षहरूसँग छलफल सुरु गरिसकेको बताइएको छ।

उता, घटनामा मृत्यु भएका व्यक्तिका परिवारले न्यायको माग गर्दै धर्ना तथा पत्रकार सम्मेलनमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन्। आम नागरिकले भने सबै पक्षबीच संवादमार्फत समस्या छिटो समाधान गरी स्वास्थ्य सेवा सहज बनाउन आग्रह गरेका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय