काठमाडौं,१२ साउन । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको ८३ वर्षको उमेरमा निधन भएको छ। जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचारका क्रममा मंगलबार उनको निधन भएको हो।
गण्डकी प्रदेशका पूर्वमन्त्री मेखलाल श्रेष्ठले सामाजिक सञ्जालमार्फत श्रेष्ठको निधनको पुष्टि गरेका छन्। उनका अनुसार बुधबार बिहान ८ बजेदेखि ११ बजेसम्म दिवंगत नेता श्रेष्ठको पार्थिव शरीर नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिनेछ।
त्यसपछि पार्टीका नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूको सहभागितामा शवयात्रा निकालेर पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कार्यक्रम रहेको पूर्वमन्त्री श्रेष्ठले जानकारी दिएका छन्।
दिवंगत नेता श्रेष्ठलाई नेपाली कांग्रेसका सभापति गगन थापाले गत साउन ७ गते पार्टीको वरिष्ठ नेतामा मनोनयन गरिएको घोषणा गरेका थिए। लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय भूमिका निर्वाह गरेका श्रेष्ठको निधनसँगै पार्टीले एक अनुभवी नेतालाई गुमाएको छ।




