काठमाडौं,१२ साउन । मुग्लिन–नारायणगढ सडकखण्डमा पुनः पहिरो खस्दा दुईतर्फी यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।
जिल्ला प्रशासनका अनुसार मुग्लिन नजिकैको खहरे खोलास्थित क्षेत्रमा आज दिउँसो करिब ३ बजे सुख्खा पहिरो खसेपछि सडक बन्द भएको हो। पहिरोका कारण दुवैतर्फ सवारीसाधन रोकिएका छन् भने सडक खुलाउन डोजरमार्फत पहिरो पन्छाउने काम तीव्र रूपमा भइरहेको छ।
यसअघि पनि यही सडकखण्डमा पहिरो खस्दा करिब साढे चार घण्टापछि मात्रै यातायात सञ्चालनमा आएको थियो। तर सडक सञ्चालन भएको करिब दुई घण्टामै पुनः पहिरो खसेपछि यात्रा प्रभावित बनेको छ।
सडक खुल्ने समयबारे आधिकारिक जानकारी आउन बाँकी रहेकाले यात्रु तथा सवारी चालकलाई आवश्यक सावधानी अपनाउन र वैकल्पिक योजना बनाएर यात्रा गर्न सम्बन्धित निकायले आग्रह गरेको छ।




