बारा,१२ साउन । नेपाल आयल निगमको मधेश प्रदेश प्रादेशिक डिपो, अमलेखगञ्जमा गत आर्थिक वर्ष २०८२/८३ मा डिजेल र मट्टीतेलको आयात घटेको छ भने पेट्रोलको आयात उल्लेखनीय रूपमा बढेको छ।
डिपो प्रमुख अशोककुमार साहका अनुसार आर्थिक वर्ष २०८२/८३ मा अमलेखगञ्ज डिपोमार्फत ११ लाख ९ हजार ७९२ किलोलिटर डिजेल आयात भएको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा ११ लाख ५३ हजार २१४ किलोलिटर डिजेल आयात भएको थियो। यसअनुसार डिजेलको आयात ४३ हजार ४२२ किलोलिटर अर्थात् करिब ४ करोड ३४ लाख २२ हजार लिटरले घटेको हो।
यता, पेट्रोलको आयात भने उल्लेखनीय रूपमा वृद्धि भएको छ। गत आर्थिक वर्षमा ४ लाख ७५ हजार ३४२ किलोलिटर पेट्रोल आयात भएकोमा अघिल्लो वर्ष यो परिमाण २ लाख ७७ हजार ३८१ किलोलिटर मात्र थियो।
डिपो प्रमुख साहका अनुसार २०८१ चैतदेखि मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनमार्फत पेट्रोल आयात सुरु भएसँगै अमलेखगञ्जबाट अन्य डिपोमा स्टक ट्रान्सफरको व्यवस्था लागू गरिएको छ। यही व्यवस्थाका कारण पेट्रोलको आयात अघिल्लो वर्षको तुलनामा झन्डै दोब्बर देखिएको उनले बताए।
त्यसैगरी, मट्टीतेलको आयात पनि घटेको छ। आर्थिक वर्ष २०८२/८३ मा ६ हजार ५९० किलोलिटर मट्टीतेल आयात भएको छ, जबकि अघिल्लो आर्थिक वर्षमा ७ हजार ५०० किलोलिटर आयात भएको थियो।
नेपाल आयल निगमका अनुसार पाइपलाइनमार्फत पेट्रोल आपूर्ति र वितरण प्रणाली विस्तार भएपछि अमलेखगञ्ज डिपो देशभरका विभिन्न डिपोमा इन्धन वितरणको प्रमुख केन्द्रका रूपमा स्थापित हुँदै गएको छ।




