जनकपुर,१२ साउन । धनुषा जिल्लामा सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न सर्वपक्षीय बैठकले साझा प्रतिबद्धता जनाएको छ। सुनसरीमा भएको घटनापछि जिल्लामा पनि संवेदनशील गतिविधि देखिन थालेको सन्दर्भमा जिल्ला प्रशासन कार्यालयको पहलमा आयोजित बैठकले शान्ति, सुरक्षा र सामाजिक एकता कायम राख्न विभिन्न निर्णय गरेको हो।
बैठकले विरोध प्रदर्शनका नाममा तोडफोड, आगजनी तथा सरकारी वा निजी सम्पत्तिमा क्षति पुर्याउने व्यक्तिमाथि प्रचलित कानुनअनुसार कडा कारबाही गर्ने निर्णय गरेको छ। साथै फेसबुक, टिकटकलगायत सामाजिक सञ्जालमार्फत धार्मिक विद्वेष, घृणा र सामाजिक सद्भाव बिगार्ने सामग्री प्रसारण तथा प्रचारप्रसार गर्ने गतिविधिलाई नियन्त्रण गरिने जनाएको छ।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार विभिन्न धर्म, जातजाति, भाषाभाषी र समुदायबीच आपसी विश्वास, सहिष्णुता र भाइचाराको सम्बन्ध अझ सुदृढ बनाउन समुदायका अगुवा, नागरिक समाज, बुद्धिजीवी, राजनीतिक दल, विभिन्न संघसंस्था तथा स्थानीय तहका जनप्रतिनिधिले आ–आफ्नो स्तरबाट सक्रिय भूमिका निर्वाह गर्ने सहमति भएको छ।
बैठकले आपराधिक गतिविधिमा संलग्न व्यक्तिमाथि मुलुकी अपराध संहिता, २०७४, विद्युतीय कारोबार ऐन, २०६३ तथा अन्य प्रचलित कानुनअनुसार आवश्यक कारबाही अघि बढाइने निर्णय पनि गरेको छ।
सर्वपक्षीय बैठकमा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार चौधरी, हिन्दु तथा मुस्लिम समुदायका प्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी, नागरिक समाजका अगुवा तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।




