जनकपुर,१२ साउन । सुनसरीको कप्तानगञ्ज घटनापछि उत्पन्न तनावपूर्ण अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका विभिन्न संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालद्वारा जारी आदेशअनुसार आज दिउँसो ३:३० बजेदेखि अर्को सूचना जारी नभएसम्म कर्फ्यु लागू रहनेछ। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम जारी गरिएको आदेश शान्ति सुरक्षा कायम राख्ने उद्देश्यले लागू गरिएको प्रशासनले जनाएको छ।
कर्फ्युको दायरा पूर्वमा पकली चोकदेखि पश्चिममा कोशी ब्यारेजको पुलसम्म फैलिएको छ। यस क्षेत्रमा पर्ने पूर्व–पश्चिम महेन्द्र राजमार्गको उत्तर र दक्षिण २००–२०० मिटरको क्षेत्र तथा सम्पूर्ण इनरुवा बजार क्षेत्र कर्फ्युभित्र समेटिएका छन्।
कर्फ्यु अवधिभर तोकिएका क्षेत्रमा सर्वसाधारणको आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउलगायत सबै गतिविधिमा पूर्ण प्रतिबन्ध लगाइएको छ।
जिल्ला प्रशासन कार्यालयले नागरिकलाई कर्फ्यु आदेशको पूर्ण पालना गर्न, अफवाहमा विश्वास नगर्न तथा शान्ति र सामाजिक सद्भाव कायम राख्न सुरक्षा निकायलाई सहयोग गर्न आग्रह गरेको छ।




