विराटनगर,१२ साउन । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित देवानगञ्ज बजारमा मंगलबार साँझ दुई समुदायबीच भएको झडपले उग्र रूप लिँदा स्थानीय अवस्था अत्यन्त तनावपूर्ण बनेको छ। बेलुकी करिब ७ बजेदेखि सुरु भएको झडपसँगै आगजनी, तोडफोड र ढुंगामुढा भएपछि सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा ल्याउन कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुवै पक्षका व्यक्तिहरू रड, भाला, खुँडा, तरबारलगायत घरेलु हतियारसहित आमनेसामने भएका छन्। घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य सुरक्षा निकाय परिचालन गरिए पनि साँझको समय र उग्र भीडका कारण प्रभावकारी रूपमा नियन्त्रण गर्न चुनौती देखिएको छ।
सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काले झडपलाई नियन्त्रणमा लिन सुरक्षा बलले प्रयास गरिरहेको भए पनि अवस्था अझै तनावपूर्ण रहेको जानकारी दिए। उनका अनुसार सुरक्षाकर्मीमाथिसमेत ढुंगामुढा भएपछि केही स्थानमा अगाडि बढ्न कठिन भएको छ।
यसअघि मंगलबार दिउँसो देवानगञ्ज–३ कप्तानगञ्ज क्षेत्रका केही घरमा आगजनी भएको थियो। साँझ पुनः हिंसा चर्किएसँगै बजार क्षेत्रमा आगजनी र तोडफोडका घटना भएका छन्। स्थानीयवासी त्रसित बनेका छन् भने वृद्धवृद्धा, महिला तथा बालबालिकाको सुरक्षाप्रति चिन्ता बढेको छ। यद्यपि घटनाबाट भएको मानवीय तथा भौतिक क्षतिको आधिकारिक विवरण सार्वजनिक भएको छैन।
झडपअघि जिल्ला सुरक्षा अधिकारीहरूले देवानगञ्ज र कप्तानगञ्ज क्षेत्रको स्थलगत निरीक्षण गर्दै स्थानीय अगुवासँग छलफल गरेका थिए। साथै, दिउँसो नेपाली सेनाले देवानगञ्ज र हरिनगर क्षेत्रमा हेलिकोप्टरमार्फत हवाई निगरानीसमेत गरेको थियो।
सुरक्षा निकायले थप बल परिचालन गरी स्थिति सामान्य बनाउने प्रयास जारी राखेको जनाएको छ। घटनाबारे थप विवरण आउने क्रम जारी छ।




