काठमाडौं,१३ साउन । नेपाल चिकित्सक सङ्घले वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र अस्पतालमा गरिएको तोडफोडका दोषीमाथि कडा कानुनी कारबाहीको माग गर्दै दोस्रो दिन पनि देशव्यापी आन्दोलनलाई निरन्तरता दिएको छ।
सङ्घको आह्वानअनुसार आज पनि देशभरका सरकारी तथा निजी अस्पतालहरूमा आकस्मिक (इमर्जेन्सी) बाहेकका सबै स्वास्थ्य सेवा बन्द रहेका छन्। आन्दोलनका कारण ओपीडी सेवा, नियमित स्वास्थ्य परीक्षण, शल्यक्रिया तथा अन्य गैरआकस्मिक सेवाहरू प्रभावित भएका छन् भने आकस्मिक सेवा भने सञ्चालनमा राखिएको छ।
नियमित स्वास्थ्य सेवा अवरुद्ध भएपछि उपचारका लागि अस्पताल पुगेका धेरै बिरामी सेवा नपाई फर्किन बाध्य भएका छन्। कतिपय बिरामी आकस्मिक सेवा वा अन्य अस्पतालको विकल्प खोज्न बाध्य भएका छन्।
काठमाडौंका शिक्षण अस्पताल र वीर अस्पताललगायतका प्रमुख सरकारी अस्पतालमा बिरामीको चाप समेत बढेको देखिएको छ।
नेपाल चिकित्सक सङ्घले स्वास्थ्यकर्मीमाथिको आक्रमणमा संलग्न दोषीहरूलाई तत्काल कानुनी दायरामा ल्याई चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित नगरेसम्म आन्दोलनका कार्यक्रम थप सशक्त बनाइने चेतावनी दिएको छ।
यता, बिरामी तथा सर्वसाधारणले स्वास्थ्य सेवा अवरुद्ध हुँदा उपचारमा गम्भीर समस्या उत्पन्न भएको भन्दै सरकारले चिकित्सकहरूको मागलाई शीघ्र सम्बोधन गरी स्वास्थ्य सेवा नियमित सञ्चालनको वातावरण बनाउन आग्रह गरेका छन्।




