spot_img

वरिष्ठ नेता श्रेष्ठको निधनमा कांग्रेसद्वारा तीन दिन शोक मनाउने निर्णय

spot_img
spot_img

काठमाडौं,१३ साउन । नेपाली कांग्रेसले वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै तीन दिन शोक मनाउने निर्णय गरेको छ।

बुधबार बसेको पार्टीको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले शोक प्रस्ताव पारित गर्दै साउन १३, १४ र १५ गतेसम्म पार्टीका केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयमा झन्डा आधा झुकाउने निर्णय गरेको हो। साथै साउन १४ गते देशभरका पार्टी कार्यालय बन्द रहने र १३ दिनसम्म शोक पुस्तिका राखिने जनाइएको छ।

७९ वर्षीय श्रेष्ठको उपचारका क्रममा ललितपुरको जावलाखेलस्थित हेलिअस अस्पतालमा मंगलबार निधन भएको थियो। उनी नेपाली कांग्रेसका वरिष्ठ नेता, पूर्वउपप्रधानमन्त्री तथा तत्कालीन नेपाली कांग्रेस (प्रजातान्त्रिक) का कार्यवाहक सभापति थिए। १२ बुँदे ऐतिहासिक सहमतिका हस्ताक्षरकर्तामध्ये उनी पनि एक थिए।

विद्यार्थी जीवनदेखि नै कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठले लोकतन्त्रको स्थापना, पुनःस्थापना र सुदृढीकरणका आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। राजनीतिक संघर्षका क्रममा उनले करिब छ वर्ष जेल जीवन पनि बिताएका थिए।

श्रेष्ठ २०४८, २०५६ र २०६४ सालमा स्याङ्जाबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए भने २०७० सालमा समानुपातिक प्रणालीबाट संविधानसभा सदस्य बनेका थिए। उनले उपप्रधानमन्त्रीसँगै भौतिक योजना तथा निर्माण, वन तथा वातावरण, वाणिज्य र शिक्षा मन्त्रालयको नेतृत्वसमेत सम्हालेका थिए।

वि.सं. २००४ असार ३१ गते स्याङ्जामा जन्मिएका श्रेष्ठको लोकतन्त्रप्रतिको प्रतिबद्धता, राष्ट्रसेवा र संगठन निर्माणमा पुर्‍याएको योगदानलाई पार्टीले उच्च सम्मानका साथ स्मरण गरेको छ।

कांग्रेसले १३औँ दिनको पुण्यतिथिमा स्याङ्जाको कालीगण्डकी राम्दीघाटमा अस्तु विसर्जन गरी शोकसभा आयोजना गर्ने कार्यक्रमसमेत तय गरेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय