सिरहा,१३ साउन । सुनसरीमा भएको घटनापछि सामाजिक सञ्जालमार्फत धार्मिक तथा साम्प्रदायिक सद्भाव बिगार्ने खालका भ्रामक सूचना, अफवाह तथा द्वेषपूर्ण अभिव्यक्ति फैलिन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय सिरहाले नागरिकलाई संयमित रहन आग्रह गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले बुधबार सूचना जारी गर्दै पुराना घटनालाई वर्तमान घटनासँग जोडेर भ्रम सिर्जना गर्ने तथा कुनै धर्म, समुदाय, संस्कृति वा आस्थालाई लक्षित गरी घृणा फैलाउने गतिविधिमा संलग्न नहुन आग्रह गरेका हुन् ।
प्रशासनले सिरहामा विभिन्न जातजाति, भाषा, धर्म र समुदायबीच लामो समयदेखि कायम रहेको आपसी एकता, सहिष्णुता, सद्भाव र भाइचारालाई जोगाउनु सबैको साझा दायित्व भएको जनाएको छ ।
सामाजिक सद्भाव संरक्षणका लागि धार्मिक गुरु, नागरिक समाज, बुद्धिजीवी, सञ्चारकर्मी तथा सम्पूर्ण सरोकारवालालाई सक्रिय भूमिका निर्वाह गर्न पनि प्रशासनले आह्वान गरेको छ ।
त्यस्तै, सामाजिक उत्तेजना फैलाउने, धार्मिक भावनामा आघात पुर्याउने वा कानुनविपरीत गतिविधि गर्ने व्यक्तिमाथि प्रचलित कानुनअनुसार कारबाही हुने प्रशासनले चेतावनी दिएको छ । यस्ता गतिविधिमा संलग्न हुनेलाई मुलुकी अपराध संहिता, २०७४ तथा विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम कानुनी कारबाही गरिने जनाइएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी बरालले सिरहामा लामो समयदेखि कायम रहेको धार्मिक तथा सामाजिक सद्भाव सबैको साझा सम्पत्ति भएकाले कुनै पनि अफवाह वा भ्रामक सूचनाको पछि नलाग्न आग्रह गरेका छन् ।
उनले सामाजिक सञ्जालको जिम्मेवार प्रयोग गर्न, आपसी एकता, सहिष्णुता र भाइचारा कायम राख्न तथा शान्ति, सुरक्षा र सामाजिक सद्भावमा खलल पुग्ने कुनै पनि गतिविधिमा संलग्न नहुन सबैलाई अनुरोध गरेका छन् ।
प्रशासनले शान्ति, सुरक्षा तथा सामाजिक सद्भावमा खलल पुर्याउने जो–कोहीमाथि प्रचलित कानुनअनुसार कडा कारबाही गरिने स्पष्ट पारेको छ ।




