काठमाडौं,१३ साउन । विभिन्न जिल्लाबाट पैदल यात्रा गर्दै काठमाडौं आइपुगेका लघुवित्त पीडितहरूले दोस्रो दिन पनि माइतीघर मण्डलामा धर्ना तथा प्रदर्शनलाई निरन्तरता दिएका छन्।आफ्ना मागहरूको सुनुवाइ नभएसम्म आन्दोलन नरोकिने उनीहरूको चेतावनी छ।
पीडितहरूले लघुवित्त, बैंक तथा वित्तीय संस्थाबाट ऋणीमाथि भइरहेको वित्तीय शोषण अन्त्य गर्न, चर्को तथा चक्रवर्ती ब्याजदर खारेज गर्न र गैरकानुनी रूपमा असुल गरिएको हर्जना तथा अतिरिक्त शुल्क फिर्ता गर्न सरकारसँग माग गरेका छन्। साथै, लघुवित्तसम्बन्धी विगतका अध्ययन प्रतिवेदन सार्वजनिक गरी तत्काल कार्यान्वयनमा ल्याउन, अन्यायपूर्ण रूपमा गरिएको जग्गा लिलामी, कालोसूचीकरण तथा दबाबपूर्ण ऋण असुलीको निष्पक्ष छानबिन गर्न पनि उनीहरूले आग्रह गरेका छन्।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटार घेराउ गर्न पुगेका आन्दोलनकारीहरू नेपाल राष्ट्र बैंकतर्फ अघि बढ्ने क्रममा प्रहरीले रोकेपछि सडकमै धर्ना बसेका थिए। उनीहरूले आफूहरूलाई ऋणको चक्रमा पारेर आर्थिक रूपमा विस्थापित बनाइएको आरोप लगाउँदै पीडितहरूको आवाज सरकारले बेवास्ता गरेको बताएका छन्।
देशका विभिन्न दुर्गम जिल्लाबाट लामो दूरी पैदल यात्रा गरेर राजधानी पुगेका पीडितहरूको प्रदर्शनका कारण माइतीघर आसपासको यातायातसमेत प्रभावित बनेको छ। आन्दोलनकारीहरूले आफ्ना मागको सम्बोधन नभएसम्म आन्दोलनलाई थप सशक्त बनाउने बताएका छन्।




