spot_img

नारायणी अस्पताल घटनामा जनमत पार्टी पर्साको ध्यानाकर्षण, निष्पक्ष छानबिनको माग

spot_img
spot_img

बीरगन्ज,१३ साउन । नारायणी अस्पताल वीरगञ्जमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि विकसित घटनाक्रमप्रति जनमत पार्टी पर्साले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

पार्टीले घटनाको निष्पक्ष, पारदर्शी र शीघ्र छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न तथा अस्पतालको स्वास्थ्य सेवा तत्काल पूर्ण रूपमा सञ्चालनमा ल्याउन सरकारसँग माग गरेको छ।

जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फद्वारा जारी विज्ञप्तिमा उपचारका क्रममा भएको बिरामीको मृत्यु, त्यसपछि स्वास्थ्यकर्मीमाथि भएको आक्रमण, अस्पतालमा गरिएको तोडफोड र त्यसका कारण स्वास्थ्य सेवा प्रभावित भएको घटनालाई अत्यन्त दुःखद तथा निन्दनीय भएको उल्लेख गरिएको छ।

पार्टीले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, आक्रमणमा घाइते भएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै वार्ताका क्रममा चिकित्सक समूहमाथि प्रशासनबाट भएको भनिएको दुर्व्यवहारप्रति पनि गम्भीर आपत्ति जनाएको छ।

विज्ञप्तिमा बिरामीले गुणस्तरीय उपचार पाउने अधिकार र स्वास्थ्यकर्मीले सुरक्षित वातावरणमा सेवा दिने अधिकार समान रूपमा सुनिश्चित हुनुपर्नेमा जोड दिइएको छ। हिंसा, तोडफोड र अवरोध कुनै पनि समस्याको समाधान हुन नसक्ने उल्लेख गर्दै यस्ता गतिविधिका कारण अस्पतालको नियमित सेवा प्रभावित हुँदा सर्वसाधारण बिरामी प्रत्यक्ष रूपमा मारमा परेको पार्टीको भनाइ छ।

यसै सन्दर्भमा जनमत पार्टी पर्साले सरकार र सम्बन्धित निकायसमक्ष पाँच बुँदे माग अघि सारेको छ। पार्टीले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न, स्वास्थ्यकर्मी र बिरामी दुवैको सुरक्षा सुनिश्चित गर्न प्रभावकारी सुरक्षा व्यवस्था लागू गर्न, अस्पतालको सेवा तत्काल पूर्ण रूपमा सुचारु गर्न, आवश्यक चिकित्सक, स्वास्थ्यकर्मी, उपकरण, औषधि तथा पूर्वाधार व्यवस्थापनका लागि दीर्घकालीन विशेष योजना लागू गर्न तथा अस्पताल व्यवस्थापनलाई पारदर्शी, जवाफदेही र जनमुखी बनाउँदै गुनासो सुनुवाइ र नियमित अनुगमन प्रणाली स्थापना गर्न माग गरेको छ।

जनमत पार्टी पर्साले स्वास्थ्य क्षेत्रको सुधार, सुशासन र नागरिकको स्वास्थ्य अधिकारको पक्षमा आफू सदैव प्रतिबद्ध रहेको उल्लेख गर्दै सबै पक्षलाई संयमता अपनाई कानुनी प्रक्रिया र संवादमार्फत समस्याको समाधान खोज्न आग्रह गरेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय