जनकपुर,१३ साउन । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समुदायबीच भएको झडपपछि सुरक्षा व्यवस्था थप कडा बनाइएको छ।
सम्भावित थप अप्रिय घटना रोक्न प्रभावित क्षेत्रमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
मङ्गलबार साँझ भएको ढुङ्गाहानाहानपछि भित्री क्षेत्रमा सुरक्षाकर्मी पुग्न कठिनाइ भएपछि काठमाडौँबाट विशेष निगरानी ड्रोन पठाइएको छ। गृहमन्त्री सुधन गुरुङको निर्देशनमा प्रहरी प्रधान कार्यालयले उच्च प्रविधियुक्त ड्रोन परिचालन गरेको हो।
कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी योगेन्द्रसिंह थापाका अनुसार ड्रोनमार्फत प्रभावित क्षेत्रमा शङ्कास्पद गतिविधि, भीडभाड र समग्र सुरक्षा अवस्थाको सूक्ष्म अनुगमन भइरहेको छ।
शान्ति–सुरक्षा कायम राख्न स्थानीय प्रशासनले संवेदनशील क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ। यसअघि आइतबार स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीको गोली लागेर देवानगञ्ज–३ का ३० वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको घटनाको छानबिनका लागि सरकारले गठन गरेको टोली पनि घटनास्थल पुगेर अनुसन्धान सुरु गरिसकेको छ।
प्रशासनले सम्भावित थप झडप रोक्न छिमेकी जिल्लाबाट समेत सुरक्षा टोली परिचालन गरेको जनाएको छ। कप्तानगञ्जसहित आसपासका संवेदनशील क्षेत्रमा अहिले सुरक्षा सतर्कता उच्च पारिएको छ।




