काठमाडौं,१३ साउन । काठमाडौंको माइतीघर क्षेत्रमा वर्षायाममा हुने डुबानको समस्या समाधान गर्न काठमाडौं महानगरपालिकाले निकास खोल्ने काम सुरु गरेको छ ।
महानगरपालिकाले बुधबारदेखि माइतीघर आसपासका क्षेत्रमा पानीको सहज निकासका लागि अवरोध हटाउन थालेको हो । त्यसक्रममा नेपाली सेनाको सैन्य परिवहन गण, थापाथली इन्जिनियरिङ क्याम्पस तथा राष्ट्रिय तथ्यांक कार्यालय आसपासका क्षेत्रमा डोजर प्रयोग गरी अवरोध हटाउने काम भइरहेको छ ।
माइतीघर क्षेत्रमा बर्खाको समयमा पानी जम्ने समस्या लामो समयदेखि देखिँदै आएको छ । केही साताअघि लगातार परेको वर्षाका कारण पनि माइतीघर तथा आसपासका क्षेत्र डुबानमा परेका थिए ।
यसअघि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रतिकार्य शाखा प्रमुख रामबहादुर केसीको संयोजकत्वमा गठित अध्ययन समितिले पानीको बहाव क्षेत्रमा रहेका साँघुरा ढल तथा अन्य अवरोध हटाउन सुझाव दिएको थियो ।
समितिको सुझाव र पछिल्लो डुबानको अवस्थालाई मध्यनजर गर्दै महानगरपालिकाले पानीको निकास सहज बनाउने काम अघि बढाएको जनाएको छ ।
महानगरको यो पहलपछि माइतीघर क्षेत्रमा वर्षाको पानी सहज रूपमा निकास हुने र आगामी दिनमा डुबानको समस्या कम हुने अपेक्षा गरिएको छ ।




