काठमाडौं,१३ साउन । चिकित्सा शिक्षा आयोगले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ६ अर्ब ५५ करोड २५ लाख ९८ हजार रुपैयाँको कार्यक्रम तथा बजेट स्वीकृत गरेको छ ।
प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको अध्यक्षतामा बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको आयोगको २७औँ बैठकले उक्त बजेट स्वीकृत गरेको हो ।
स्वीकृत बजेटमध्ये नेपाल सरकारबाट ५ अर्ब ९९ करोड २१ लाख रुपैयाँ विनियोजन भएको छ भने आयोगको आन्तरिक स्रोतबाट ५६ करोड ४ लाख ९८ हजार रुपैयाँ जुटाइनेछ ।
आयोगका अनुसार गत आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म आन्तरिक स्रोतमा ९९ करोड ८५ लाख ९६ हजार २६७ रुपैयाँ बचत थियो । चालु आवमा विभिन्न आन्तरिक स्रोतबाट थप ३५ करोड रुपैयाँ प्राप्त हुने अनुमानसहित आयोगसँग कुल १ अर्ब ३४ करोड ८५ लाख ९६ हजार २६७ रुपैयाँ उपलब्ध हुने प्रक्षेपण गरिएको छ ।
त्यसमध्ये चालु आर्थिक वर्षमा ५६ करोड ४ लाख ९८ हजार रुपैयाँ खर्च गर्ने निर्णय बैठकले गरेको छ । आयोगले आन्तरिक स्रोतबाट विनियोजित रकममध्ये चालुतर्फ ४७ करोड ४२ लाख ९८ हजार रुपैयाँ र पुँजीगततर्फ ८ करोड ६२ लाख रुपैयाँ छुट्याएको जनाएको छ ।
बैठकमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता, आयोगका उपाध्यक्ष प्रा. डा. देवेन्द्रबहादुर खत्री तथा सदस्य सचिव एवं सहसचिव बसन्तप्रसाद कोइरालालगायत सहभागी थिए ।




