spot_img

बीरगन्जका ३२ वटै वडा कार्यालय बन्द, वडाध्यक्ष चतुर्वेदीको रिहाइको माग गर्दै आन्दोलन

spot_img
spot_img

बीरगन्ज,१३ साउन । बीरगन्ज महानगरपालिका–२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीलाई प्रहरीले पक्राउ गरेपछि विरोधस्वरूप महानगरका ३२ वटै वडाध्यक्षले वडा कार्यालयको कामकाज ठप्प पार्दै आन्दोलन सुरु गरेका छन्। बुधबारदेखि सबै वडा कार्यालय बन्द हुँदा सिफारिस, दर्ता लगायतका अत्यावश्यक सेवा प्रभावित भएका छन्।

गत शनिबार नारायणी अस्पतालमा उपचारका क्रममा बीरगन्ज–२५ का राजकुमार पटेलको मृत्यु भएपछि आक्रोशित समूहले अस्पतालमा तोडफोड गर्नुका साथै मेडिकल अफिसर डा. प्रमोद राममाथि कुटपिट गरेको थियो। उक्त घटनापछि देशभरका चिकित्सकले विरोधस्वरूप उपचार सेवा प्रभावित पार्दै आन्दोलन जारी राखेका छन्।

सोही घटनाको अनुसन्धानका क्रममा प्रहरीले मंगलबार वडाध्यक्ष चतुर्वेदीलाई नियन्त्रणमा लिएर हिरासतमा राखेको हो। पक्राउपछि महानगरका सबै वडाध्यक्षले संयुक्त विज्ञप्ति जारी गर्दै तत्काल रिहाइको माग गरेका थिए। तर माग सम्बोधन नभएपछि उनीहरूले बुधबारदेखि वडा कार्यालय बन्द गरेर आन्दोलन थालेका हुन्।

आन्दोलनरत वडाध्यक्षहरूले चतुर्वेदीले आफ्नै वडाका नागरिकको हकहितका लागि आवाज उठाएको भन्दै त्यसैलाई आधार बनाएर पक्राउ गर्नु अन्यायपूर्ण भएको दाबी गरेका छन्। उनीहरूले प्रहरी प्रशासनले निर्वाचित जनप्रतिनिधिप्रति असंवेदनशील व्यवहार गरेको आरोप पनि लगाएका छन्।

बुधबार जारी संयुक्त विज्ञप्तिमा वडाध्यक्षहरूले चतुर्वेदीलाई तत्काल सम्मानपूर्वक रिहा गर्न माग गर्दै त्यसो नभए थप कडा आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिएका छन्।

वडा कार्यालय बन्द भएपछि दैनिक प्रशासनिक सेवा प्रभावित हुँदा सेवाग्राहीहरू प्रत्यक्ष रूपमा समस्यामा परेका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय