बीरगन्ज,१३ साउन । पर्साको जगरनाथपुर गाउँपालिकाले वन तथा वातावरण संरक्षणलाई प्राथमिकता दिँदै सार्वजनिक तथा ऐलानी पर्ती जग्गामा वृक्षारोपण अभियानलाई निरन्तरता दिएको छ। मधेश प्रदेशमा वातावरण संरक्षणका क्षेत्रमा उत्कृष्ट काम गर्दै संघीय सरकारबाट समेत सम्मानित हुँदै आएको गाउँपालिकाले बुधबार वडा नम्बर ६ औराहास्थित ७ बिघा सार्वजनिक पर्ती जग्गामा वृक्षारोपण गरेको हो।
गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवको नेतृत्वमा आयोजित कार्यक्रममा आँप, कटहर, जामुन, मेवा, मोहबनी, अम्बा, टीक, सपेता लगायतका विभिन्न प्रजातिका करिब १ हजार ५०० बिरुवा रोपिएको स्थानीय नेता मञ्जय गिरीले जानकारी दिए।
वृक्षारोपण कार्यक्रमको उद्घाटन पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले गरेका थिए। कार्यक्रममा बोल्दै उनले जगरनाथपुर गाउँपालिकाले वातावरण संरक्षण र हरियाली प्रवर्द्धनका क्षेत्रमा देखाएको सक्रियताको प्रशंसा गर्दै यस्ता अभियानलाई आगामी दिनमा अझ व्यापक बनाउँदै लैजानुपर्ने बताए।
पूर्वमन्त्री रिजालको प्रमुख आतिथ्यता तथा गाउँपालिका अध्यक्ष यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्री, पूर्व प्रदेशसभा सदस्य प्रह्लाद गिरि, कांग्रेसका मधेश प्रदेश महामन्त्री बृहस्पति कृष्ण श्रेष्ठ, गाउँपालिकाकी उपाध्यक्ष बबीता सिंह क्षेत्री, प्रमुख प्रशासकीय अधिकृत सन्देश यादव तथा एमाले नेता वीरेन्द्र यादवलगायत जनप्रतिनिधि, राजनीतिक दलका नेता र स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो।
गाउँपालिकाले सार्वजनिक खाली जग्गालाई हरियालीमा रूपान्तरण गर्दै वातावरण संरक्षण, जैविक विविधताको प्रवर्द्धन तथा दीर्घकालीन पर्यावरणीय सन्तुलन कायम गर्ने उद्देश्यका साथ यस्तो अभियानलाई निरन्तर अघि बढाइरहेको जनाएको छ।




