बीरगन्ज,१३ साउन । जिल्ला प्रहरी कार्यालय पर्साको नेतृत्व परिवर्तन गरिएको छ। प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बुधबार गरेको निर्णयअनुसार पर्साका प्रहरी प्रमुख (एसपी) सुदीप पाठकको सरुवा गर्दै उनको स्थानमा एसपी पवन भट्टराईलाई खटाइएको छ।
नवनियुक्त एसपी भट्टराई यसअघि जिल्ला प्रहरी परिसर काठमाडौंमा कार्यरत थिए। सरुवासँगै एसपी पाठकलाई उपत्यका प्रहरी कार्यालयमा जिम्मेवारी दिइएको छ।
यस्तै, प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा कार्यरत एसपी दानबहादुर थापालाई जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाउने निर्णय पनि गरेको छ।
प्रहरी संगठनभित्र नियमित प्रशासनिक व्यवस्थापनअन्तर्गत गरिएको यस सरुवासँगै पर्सा प्रहरीको नेतृत्व अब एसपी पवन भट्टराईले सम्हाल्ने भएका छन्।




