spot_img

पर्सा निकुञ्जमा बाघको संख्या झन्डै दोब्बर

spot_img
spot_img

बीरगन्ज,१३ साउन ।  राष्ट्रिय बाघ गणना–२०८२ को नतिजाले पर्सा राष्ट्रिय निकुञ्जमा बाघ संरक्षण अभियानले उल्लेखनीय सफलता हासिल गरेको देखाएको छ। पछिल्लो चार वर्षमा निकुञ्जमा वयस्क बाघको संख्या ४१ बाट बढेर ७१ पुगेको छ, जसले पर्सालाई नेपालमै सबैभन्दा तीव्र रूपमा बाघ संख्या वृद्धि भएको संरक्षित क्षेत्रमध्ये एक बनाएको छ।

वन तथा वातावरण मन्त्रालयले बुधबार सार्वजनिक गरेको राष्ट्रिय बाघ गणनाअनुसार हाल नेपालभर ४२९ वटा वयस्क बाघ अभिलेख भएका छन्। तीमध्ये ७१ वटा बाघ पर्सा राष्ट्रिय निकुञ्जमा रहेका छन्।

६२७.३९ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको पर्सा राष्ट्रिय निकुञ्ज पर्सा, बारा र मकवानपुर जिल्लामा फैलिएको छ। भारतको वाल्मीकि टाइगर रिजर्भ र चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको यो क्षेत्र बाघको आवागमन तथा संरक्षणका लागि महत्त्वपूर्ण जैविक मार्गका रूपमा चिनिन्छ।

यसपटकको गणनाका लागि चितवन–पर्सा कम्प्लेक्सलाई तीन ब्लकमा विभाजन गरिएको थियो। पर्सा क्षेत्रमा ३२१ वटा ग्रिड तयार गरी प्रत्येक ग्रिडमा क्यामेरा ट्र्यापको एक–एक जोडी जडान गरिएको थियो। गणनामा निकुञ्ज र आसपासका वन क्षेत्रमा ११ वटा प्राविधिक टोली परिचालन गरिएको थियो।

पर्सा राष्ट्रिय निकुञ्जका संरक्षण तथा सूचना अधिकृत सन्तोषकुमार भगतका अनुसार बाघको संख्या उल्लेख्य रूपमा बढ्नु वासस्थान संरक्षण, चोरी–सिकारी नियन्त्रण, आहार प्रजातिको वृद्धि तथा नेपाल–भारतबीचको सीमापार संरक्षण सहकार्यको सकारात्मक परिणाम हो।

उनले बाघको संख्या बढेसँगै मानव–बाघ द्वन्द्व न्यूनीकरण, पर्याप्त वासस्थान व्यवस्थापन तथा आहार प्रजातिको संरक्षणलाई अझ प्रभावकारी बनाउन आवश्यक रहेको उल्लेख गरे।

बाघको संख्या बढ्नु जैविक विविधता संरक्षणका दृष्टिले सकारात्मक उपलब्धि भए पनि संरक्षणसँगै स्थानीय समुदायको सुरक्षा र सहअस्तित्वलाई पनि समान रूपमा प्राथमिकता दिनुपर्ने चुनौती रहेको संरक्षणकर्मीहरूको भनाइ छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय