जनकपुर,१३ साउन । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्ज क्षेत्रमा उत्पन्न तनावपूर्ण अवस्थापछि नेपाली सेनाले हवाई तथा पैदल गस्तीलाई तीव्र बनाएको छ। शान्ति सुरक्षा कायम राख्न र वस्तुस्थिति अनुगमन गर्न सेनाले हवाई गस्ती सञ्चालन गरेको जनाएको छ।
नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार सुरक्षा अवस्था मूल्याङ्कन तथा शान्ति सुव्यवस्था कायम राख्ने उद्देश्यले सेनाले नियमित गस्ती गरिरहेको छ। उनका अनुसार बुधबारसम्म सुनसरीको अवस्था नियन्त्रणमा रहेको र क्षेत्र क्रमशः सामान्य बन्दै गएको छ।
घटनापछि जारी गरिएको कर्फ्यु आदेश कार्यान्वयनका लागि नेपाली सेना सुरुदेखि नै फिल्डमा परिचालन गरिएको थियो। अहिले पैदल गस्तीका साथै हवाई निगरानीमार्फत पनि सुरक्षा व्यवस्थालाई थप मजबुत बनाइएको सेनाले जनाएको छ।
यस्तै, नेपाल प्रहरीले पनि ड्रोन प्रयोग गरेर कप्तानगञ्ज क्षेत्रको वस्तुस्थिति अनुगमन गरिरहेको छ।
गत आइतबार देवानगञ्ज–३, कप्तानगञ्जमा दुई समूहबीच भएको विवाद हिंसात्मक बनेपछि स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले गोली चलाउँदा स्थानीय २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। सुरक्षा निकायका अनुसार झण्डा हटाउने विषय र चर्को आवाजमा डिजे बजाउने विषयलाई लिएर विवाद बढ्दै झडपमा परिणत भएको थियो।
घटनामा एक जनाको मृत्यु हुनुका साथै नौ जना सर्वसाधारण घाइते भएका थिए। त्यसपछि मंगलबार साँझ पुनः तोडफोड, आगजनी र झडपका घटना भए पनि बुधबारदेखि अवस्था क्रमशः शान्त बन्दै गएको सुरक्षा निकायले जनाएको छ।




