spot_img

भोलीदेखि भक्तजनका लागि खुल्दै भाथा बाबा मन्दिर, धार्मिक–प्राकृतिक पर्यटन प्रवर्द्धनमा स्थानीय सक्रिय

spot_img
spot_img

बीरगन्ज,१३ साउन । पर्सा राष्ट्रिय निकुञ्जभित्र अवस्थित धार्मिक आस्थाको केन्द्र बाबा दुधेश्वरनाथ महादेव (भाथा बाबा) मन्दिर श्रावण १४ गतेदेखि भक्तजन तथा पर्यटकका लागि खुला हुने भएको छ। चुरे पहाडको काखमा रहेको यो क्षेत्र धार्मिक महत्वसँगै प्राकृतिक सौन्दर्यले भरिपूर्ण भएकाले स्थानीय समुदायले यसलाई धार्मिक तथा प्राकृतिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास गर्ने अभियानलाई तीव्र बनाएका छन्।

ठोरी गाउँपालिका–५ सुवर्णपुर चोकदेखि करिब १८ किलोमिटर उत्तरमा रहेको भाथा बाबा क्षेत्रमा प्रत्येक वर्ष नेपालका विभिन्न जिल्लाका साथै भारतका सीमावर्ती क्षेत्रबाट पनि ठूलो संख्यामा श्रद्धालु दर्शनका लागि पुग्ने गर्छन्। मन्दिर दर्शनसँगै जंगल सफारी, वन्यजन्तु अवलोकन र प्राकृतिक दृश्यको आनन्द लिन सकिने भएकाले यस क्षेत्रको पर्यटन सम्भावना झन् बढ्दै गएको छ।

श्रद्धालु तथा पर्यटकको यात्रालाई सहज बनाउन सुनखरी मध्यवर्ती होमस्टे ले जिप यातायात तथा जिप सफारी सेवा सञ्चालन गर्ने जनाएको छ। यसमार्फत आगन्तुकले भाथा बाबा दर्शनसँगै पर्सा राष्ट्रिय निकुञ्जको जैविक विविधता, वन्यजन्तु र हरियाली वातावरणको अवलोकन गर्न सक्नेछन्।

सुनखरी मध्यवर्ती होमस्टेका अध्यक्ष शम्भुराम पौडेलले भाथा बाबा क्षेत्रलाई धार्मिक आस्थाको केन्द्रमा मात्र सीमित नराखी समग्र पर्यटन गन्तव्यका रूपमा विकास गर्न स्थानीय समुदायको सक्रिय सहभागिता आवश्यक रहेको बताए। उनका अनुसार पर्यटकको संख्या बढेसँगै होमस्टे व्यवसाय, स्थानीय उत्पादनको बजारीकरण, यातायात सेवा तथा रोजगारीका अवसरसमेत विस्तार हुने अपेक्षा गरिएको छ।

समाजसेवी चन्द्र नेवारले पनि भाथा बाबा क्षेत्रको धार्मिक र प्राकृतिक पर्यटनको सम्भावनालाई व्यवस्थित रूपमा उपयोग गर्न आवश्यक रहेको बताए। उनले सडक पहुँच, पर्यटक सुरक्षा, सरसफाइ, सूचना केन्द्र, विश्रामस्थल तथा अन्य पूर्वाधारको विकास गर्न सके ठोरीलाई देशकै प्रमुख धार्मिक तथा प्राकृतिक पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न सकिने विश्वास व्यक्त गरे।

विशेषगरी श्रावण महिनामा भक्तजनको चहलपहल बढ्ने भएकाले स्थानीय समुदाय, मध्यवर्ती क्षेत्र, पर्सा राष्ट्रिय निकुञ्ज र सम्बन्धित निकायले दर्शन यात्रालाई सुरक्षित र व्यवस्थित बनाउन आवश्यक तयारी गरिरहेका छन्। स्थानीयहरूको विश्वास छ, प्रभावकारी प्रचारप्रसार र पूर्वाधार विकाससँगै भाथा बाबा क्षेत्रले धार्मिक पर्यटनसँगै स्थानीय अर्थतन्त्रलाई पनि उल्लेखनीय रूपमा चलायमान बनाउनेछ।

सुनखरी मध्यवर्ती होमस्टेले आगन्तुकका लागि एसीसहितको आरामदायी आवास, स्थानीय परिकार, जिप सफारी, निकुञ्ज भ्रमण तथा प्राकृतिक अवलोकनको सुविधा उपलब्ध गराउने जनाएको छ। भाथा बाबा दर्शन, जिप सफारी तथा होमस्टे सेवासम्बन्धी जानकारीका लागि ९८६०१०४७६७९८१९२२३०८२ नम्बरमा सम्पर्क गर्न सकिने व्यवस्था गरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय