काठमाडौ,१४ साउन । आज जुलाई ३० अर्थात् अन्तर्राष्ट्रिय मित्रता दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। व्यक्ति, समुदाय, संस्कृति तथा राष्ट्रबीचको मित्रतालाई सुदृढ बनाउँदै शान्ति, सद्भाव, सहकार्य र आपसी विश्वासको भावना प्रवर्द्धन गर्ने उद्देश्यले यो दिवस मनाउने गरिन्छ।
संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०११ मा जुलाई ३० लाई अन्तर्राष्ट्रिय मित्रता दिवसका रूपमा घोषणा गरेपछि हरेक वर्ष विश्वभर यस अवसरमा विभिन्न सचेतनामूलक कार्यक्रम, छलफल र अभियान सञ्चालन हुँदै आएका छन्। राष्ट्रसङ्घले सदस्य राष्ट्र, अन्तर्राष्ट्रिय सङ्गठन तथा नागरिक समाजलाई संवाद, ऐक्यबद्धता, मेलमिलाप र आपसी समझदारीलाई बलियो बनाउने गतिविधि सञ्चालन गर्न आग्रह गर्दै आएको छ।
राष्ट्रसङ्घका अनुसार विभिन्न समुदाय, संस्कृति र राष्ट्रबीचको मित्रताले शान्ति स्थापनाको आधार तयार गर्नुका साथै विश्वास र सहकार्यको वातावरण निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्छ। यही विश्वासका आधारमा यो दिवसको स्थापना गरिएको हो।
विशेषगरी युवा पुस्तालाई विविध संस्कृति र समुदायसँग जोडिने सामाजिक गतिविधिमा सहभागी गराई अन्तर्राष्ट्रिय समझदारी, सहिष्णुता र विविधताको सम्मान गर्ने संस्कार विकास गर्न पनि राष्ट्रसङ्घले जोड दिएको छ। भविष्यका नेतृत्वकर्तामा मित्रता र सहकार्यको भावना विकास भए विश्व शान्ति र दिगो विकासमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।
अन्तर्राष्ट्रिय मित्रता दिवस राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले अघि सारेको ‘शान्तिको संस्कृति’ अवधारणाको निरन्तरता पनि हो। युनेस्कोले हिंसाको सट्टा संवाद, सहकार्य र आपसी सम्मानमार्फत द्वन्द्व समाधान गर्नुपर्नेमा जोड दिँदै आएको छ।
यस अवसरमा युनेस्कोले मित्रता, विविधताको सम्मान, आपसी विश्वास र सहकार्यबाट मात्रै शान्तिपूर्ण, समावेशी र समृद्ध विश्व निर्माण सम्भव हुने विश्वास व्यक्त गरेको छ। आजको दिन विश्वभरका मानिसहरूले मित्रताको महत्वलाई स्मरण गर्दै एकता, सद्भाव र मानवीय सम्बन्धलाई अझ मजबुत बनाउने सन्देश प्रवाह गरिरहेका छन्।




