काठमाडौं,१४ साउन । विदेशी नागरिकमाथि कुटपिट गरी जबरजस्ती बढी रकमको बिल तिर्न लगाएको आरोपमा प्रहरीले काठमाडौँको लाजिम्पाटबाट दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार लाजिम्पाटस्थित बलिउड डान्स क्लबबाट कञ्चनपुरको बेलडाँडीका महेश रोकाया र नुवाकोटका सुरेन्द्र श्रेष्ठलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा उक्त डान्स क्लबमा आएका भारतीय नागरिकलाई कुटपिट गरी वास्तविकभन्दा बढी बिल बनाइ मोबाइल बैंकिङमार्फत जबरजस्ती रकम भुक्तानी गराएको खुलेको छ।
घटनास्थलमा पुगेका प्रहरीलाई समेत उनीहरूले अवरोध गर्नुका साथै हातपात गरेको आरोप लागेको छ। पक्राउ परेका दुवैमाथि घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।




