जनकपुर,१४ साउन । मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशालाले पूर्ण क्षमतामा स्वास्थ्य परीक्षण सेवा सञ्चालन गर्न थालेपछि सर्वसाधारणले निजी प्रयोगशालाको तुलनामा न्यून शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा पाउन थालेका छन्।
बोलपत्र प्रक्रियामार्फत आवश्यक औषधि तथा केमिकल खरिद भएपछि केही महिनायता प्रयोगशालाले पूर्ण क्षमतामा सेवा सञ्चालन गरिरहेको हो। मधेस प्रदेश सरकारअन्तर्गत सञ्चालित यस प्रयोगशालाबाट हाल दैनिक ५०० भन्दा बढी सेवाग्राहीले २५६ प्रकारका स्वास्थ्य परीक्षण गराउँदै आएका छन्।
प्रयोगशालाका निमित्त निर्देशक डा. नागेन्द्र यादवका अनुसार २०७८ कात्तिक १५ गते स्थापना भएको यो प्रयोगशालाले मधेस प्रदेशका आठवटै जिल्लाका १३६ स्थानीय तहमा जनस्वास्थ्य प्रयोगशाला सञ्चालन गर्दै स्वास्थ्य परीक्षण सेवा विस्तार गरेको छ।
आर्थिक वर्ष २०८२/८३ मा जनकपुरधामस्थित मुख्य प्रयोगशाला तथा स्थानीय तहमा सञ्चालित प्रयोगशालामार्फत कुल ८ लाख ५५ हजार ५८२ जनाको स्वास्थ्य परीक्षण गरिएको छ। यसमध्ये जनकपुरधामस्थित प्रयोगशालाबाट २ लाख ३ हजार ५८७ र स्थानीय तहका प्रयोगशालाबाट ६ लाख ५१ हजार ९९५ जनाले सेवा लिएका छन्।
उक्त अवधिमा स्वास्थ्य परीक्षण सेवाबाट प्रयोगशालाले कुल ४ करोड ७६ लाख ५२ हजार ८७ रुपैयाँ राजस्व सङ्कलन गरेको जनाएको छ। जनकपुरधामस्थित प्रयोगशालाबाट २ करोड ७५ लाख ५२ हजार ५२२ रुपैयाँ र स्थानीय तहका प्रयोगशालाबाट २ करोड ९९ हजार ५६५ रुपैयाँ राजस्व संकलन भएको हो।
प्रयोगशालाले ज्येष्ठ नागरिक र दीर्घरोगीलाई स्वास्थ्य परीक्षण शुल्कमा ९० प्रतिशत तथा अपाङ्गता भएका व्यक्तिलाई ५० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ। साथै, ‘इन्टिग्रेटेड सेवा प्रणाली’ लागू गरेपछि सेवाग्राहीले एउटै स्थानबाट विभिन्न प्रकारका स्वास्थ्य परीक्षण गराउन सक्ने सुविधा पाएका छन्।
स्थानीयवासीका अनुसार सरकारी स्वास्थ्य संस्थामा सेवामैत्री सुधारको उदाहरणका रूपमा प्रयोगशालाको




