spot_img

३५ दिनभित्र अतिक्रमण हटाउन जनकपुर सडक डिभिजनको चेतावनी, अन्यथा डोजर चलाइने

spot_img
spot_img

जनकपुर,१४ साउन । सडक डिभिजन कार्यालय जनकपुरले आफ्नो कार्यक्षेत्रभित्र पर्ने माइस्थान–गौशाला–सम्सी तथा बर्दिबास–जलेश्वर सडक खण्डमा सडक सीमा अतिक्रमण गरी बनाइएका अनधिकृत संरचनाहरू हटाउन ३५ दिनको समयसीमा दिएको छ।

कार्यालयले बुधबार सार्वजनिक सूचना जारी गर्दै तोकिएको अवधिभित्र सडक क्षेत्रभित्र रहेका टहरा, व्यापारिक संरचना तथा अन्य अतिक्रमण स्वतः हटाउन सम्बन्धित व्यक्ति तथा संस्थालाई निर्देशन दिएको हो।

सडक डिभिजनका अनुसार सडकको केन्द्र रेखाबाट दायाँ–बायाँ १५/१५ मिटर क्षेत्रभित्र जथाभावी सवारी पार्किङ गर्ने, व्यापारिक सामग्री राख्ने, विज्ञापन बोर्ड टाँस्ने, निर्माण सामग्री थुपार्ने तथा अस्थायी टहरा निर्माण गर्ने गतिविधि बढ्दै गएको छ। यस्ता कार्यले सवारी आवागमन तथा ट्राफिक व्यवस्थापनमा प्रत्यक्ष असर परेको कार्यालयको भनाइ छ।

यसअघि प्रधानमन्त्री बालेन शाहले जनकपुरका अतिक्रमित सार्वजनिक क्षेत्र खाली गराउन सम्बन्धित निकायलाई पटक–पटक निर्देशन दिँदै आएका थिए। गत माघ ५ गते जनकपुरमा आयोजित कार्यक्रममा उनले सार्वजनिक जग्गा, मठमन्दिर र पोखरी संरक्षणलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

सडक डिभिजन कार्यालयले ३५ दिनभित्र अतिक्रमण नहटाइए सार्वजनिक सडक ऐन, २०३१ को दफा १९ र २० अनुसार कार्यालय आफैंले डोजर प्रयोग गरी अनधिकृत संरचना हटाउने चेतावनी दिएको छ। भत्काउने क्रममा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट सरकारी बाँकी सरह असुल गरिने पनि सूचनामा उल्लेख गरिएको छ।

कार्यालयले निर्धारित समयभित्र अतिक्रमण हटाएर सार्वजनिक सडक क्षेत्र सुरक्षित, व्यवस्थित र अवरोधरहित बनाउन सबै सरोकारवालासँग सहयोगको अपिल गरेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय