spot_img

संसद् बैठकमा प्रधानमन्त्री र गृहमन्त्री अनुपस्थित, विपक्षी सांसदले खोजे जवाफ

spot_img
spot_img

काठमाडौं,१४ साउन । दुई सातापछि बसेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र गृहमन्त्री सुधन गुरुङ अनुपस्थित भएका छन्। बैठकमा दुवै मन्त्रीको अनुपस्थितिलाई लिएर विपक्षी सांसदहरूले प्रश्न उठाउँदै उनीहरूको खोजी गरेका छन्।

प्रतिनिधिसभा बैठक सुरु हुने समयमै प्रधानमन्त्री बालेनले राष्ट्रिय सुरक्षा समिति बैठक बोलाएका थिए। प्रधानमन्त्री र गृहमन्त्री गुरुङ दुवै उक्त बैठकमा सहभागी भएपछि उनीहरू संसद् बैठकमा उपस्थित हुन नसकेका हुन्।

संसद् बैठकमा प्रधानमन्त्री र गृहमन्त्री अनुपस्थित भएपछि नेपाली कांग्रेसलगायत विपक्षी दलका सांसदहरूले पछिल्लो घटनाप्रति सरकारको संवेदनशीलतामाथि प्रश्न उठाए।

नेपाली कांग्रेसकी सांसद बासना थापाले एक नेपाली युवाको मृत्युजस्तो संवेदनशील घटनाका बेला सरकारको नेतृत्वको उपस्थिति र भूमिकामाथि प्रश्न गरिन्।
उनले प्रधानमन्त्री बालेनलाई लक्षित गर्दै भनिन्, ‘तपाईंले लगाएको कालो चस्माबाट मृत्यु र पीडाको रङ पनि फरक–फरक देखिन्छ र ?’

थापाले प्रधानमन्त्रीको जिम्मेवारी प्रशासन सञ्चालनमा मात्रै सीमित नहुने बताइन्। संकटका बेला राष्ट्रको मनोबल उच्च राख्नु पनि प्रधानमन्त्रीको दायित्व भएको उनको भनाइ थियो। ‘सम्माननीय प्रधानमन्त्रीज्यू, नेतृत्व केवल प्रशासन चलाउने विषय होइन। नेतृत्व भनेको संकटका बेलामा राष्ट्रको मनोबल सम्हाल्ने दायित्व पनि हो,’ उनले भनिन्।

समाज डर, तनाव र अविश्वासबाट गुज्रिरहेका बेला प्रधानमन्त्रीको मौनता आफैंमा एउटा सन्देश बन्न सक्ने भन्दै थापाले प्रधानमन्त्रीले आफ्नो मौनता तोड्नुपर्ने बताइन्। उनले घटनाप्रति गृहमन्त्री गुरुङ पनि संवेदनशील हुनुपर्ने माग गरिन्।

बैठकमा नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले समेत प्रधानमन्त्री र गृहमन्त्रीको अनुपस्थितिबारे प्रश्न उठाएका छन्।

कांग्रेसकी सांसद रेखाकुमारी यादवले पछिल्लो घटनाको गम्भीरताप्रति सरकारको ध्यानाकर्षण गराउँदै गृहमन्त्रीको अनुपस्थितिमाथि प्रश्न गरिन्। ‘यत्रो घटना घट्दा गृहमन्त्रीज्यू कहाँ हराउनुभयो ?’ उनले प्रश्न गरिन्।

विपक्षी सांसदहरूले घटनाको संवेदनशीलताका बेला प्रधानमन्त्री र गृहमन्त्री संसद्मा उपस्थित भएर सरकारको धारणा सार्वजनिक गर्नुपर्ने माग गरेका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय