काठमाडौं,१४ साउन । आन्दोलनरत लघुवित्त पीडितसँग वार्ता गर्न अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वार्ता समिति गठन गरेका छन्। अर्थमन्त्री वाग्लेले बिहीबार मन्त्रिस्तरीय निर्णय गर्दै अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा पाँच सदस्यीय वार्ता समिति गठन गरेका हुन्।
मन्त्री वाग्लेले समितिलाई आन्दोलनरत लघुवित्त पीडितसँग तत्काल वार्ता सुरु गर्न निर्देशन दिएका छन्। समितिमा कानुन मन्त्रालयका सहसचिव विनोदकुमार भट्टराई, गृह मन्त्रालयका सहसचिव सुरेश पन्थी र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल सदस्य छन्।
त्यस्तै, अर्थ मन्त्रालयका उपसचिव बोलराज आचार्यलाई समितिको सदस्यसचिव तोकिएको छ। समितिको पहिलो बैठक बिहीबार नै अर्थ मन्त्रालयमा बस्ने तयारी छ। बैठकले आन्दोलनरत लघुवित्त पीडितसँग वार्ताको प्रक्रिया अघि बढाउनेछ।
लघुवित्त संस्थाबाट लिएको ऋण, ब्याज तथा असुली प्रक्रियालगायत विषयमा माग राख्दै पीडितहरू आन्दोलनमा छन्। उनीहरूका माग सम्बोधनका लागि सरकारले वार्ता समिति गठन गरेको हो।




