spot_img

रास्वपा सांसदकै प्रश्न : ‘सरकारमा परिवर्तन खोइ ?’

spot_img
spot_img

काठमाडौं,१४ साउन । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि पन्त (बुद्धिप्रसाद)ले आफूले नै सरकारको कार्यशैलीमा परिवर्तन महसुस गर्न नसकेको भन्दै जनताले कसरी परिवर्तनको अनुभूति गर्ने भनेर प्रश्न गरेका छन्।

बिहीबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद पन्तले वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत बिरामीको मृत्यु भएपछि उत्पन्न तनाव, चिकित्सकमाथि भएको हातपात र त्यसपछि देशभर चिकित्सकहरू आन्दोलनमा उत्रिएको विषय संसद्मा उठाए।

उनले घटनामा कसको कहाँ र कसरी गल्ती वा लापरबाही भएको हो भन्ने विषयमा गहन अध्ययन गरी दोषीलाई कडा कारबाही गर्न सरकारसँग माग गरे। साथै, मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे।

पन्तले घटनामा पक्राउ परेका व्यक्ति निर्दोष भए तत्काल रिहा गर्नसमेत माग गरे।

घटनापछि वीरगञ्जका चिकित्सकहरू आन्दोलनमा उत्रिएपछि उनीहरू र स्थानीय प्रशासनबीचको वार्ता निष्कर्षविहीन भएको उनले बताए। चिकित्सकहरूले जिल्लाका प्रमुखसँग वार्तामा नबस्ने अडान लिएपछि आफू सोमबारदेखि नै स्वास्थ्य मन्त्रीसँग निरन्तर टेलिफोन संवादमा रहेको पन्तले जानकारी दिए।

उनका अनुसार मंगलबार स्वास्थ्य मन्त्रीसँग भेट भएपछि मन्त्रीकै नेतृत्वमा टोली वीरगञ्ज जाने तयारी भएको थियो। तर, मन्त्रीको विराटनगर भ्रमण तय भएपछि स्वास्थ्य सचिवसँग समन्वय गर्न भनिएको उनले बताए।

त्यसपछि आफू गृह र स्वास्थ्य मन्त्रालयका सचिवहरूसँग निरन्तर सम्पर्कमा रहे पनि समस्या समाधानका लागि प्रभावकारी समन्वय हुन नसकेको पन्तको गुनासो थियो।

‘कहिले फोन उठ्थे, कहिले उठ्दैनथे। म्यासेज पनि गर्थें,’ उनले भने, ‘कहिले नाम आएको छैन, कहिले गृहले स्वास्थ्यतिर देखाउने, कहिले स्वास्थ्यले गृहतिर देखाउने हुँदै गर्दा म स्वयम्‌ले जेनजी आन्दोलनको जग अनि परिवर्तनको नारामा बनेको यो सरकारमा परिवर्तन महसुस गर्न पाइनँ।’

सरकारको कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गर्दै पन्तले सभामुखमार्फत प्रश्न गरे, ‘जनताले कसरी परिवर्तन महसुस गर्न पाउलान् र सभामुख महोदय ?’

सांसद पन्तले नारायणी अस्पतालको घटनालाई गम्भीर रूपमा लिएर तत्काल छानबिन तथा दोषीमाथि कारबाही गर्न र आन्दोलनरत चिकित्सकका माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय