काठमाडौं,१४ साउन । दक्षिण कोरियामा रोजगारीका लागि आवेदन दिने सेवाग्राहीको संख्या बढेसँगै काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागमा पासपोर्ट बनाउनेको भीड बढेको छ।
विभाग परिसरमा पछिल्लो समय पासपोर्ट बनाउन आउने सेवाग्राहीको लामो लाइन देखिन थालेको छ। लाइनमा विशेषगरी दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत आवेदन दिन तयारी गरेका युवा–युवतीको संख्या बढी छ।
ईपीएसका लागि आवेदन दिन पासपोर्ट अनिवार्य भएपछि पछिल्लो एक सातादेखि राहदानी बनाउन आउने सेवाग्राहीको संख्या बढेको विभागले जनाएको छ।
सेवाग्राहीको चाप व्यवस्थापन गर्दै सहज रूपमा सेवा उपलब्ध गराउन विभागले बुधबार सूचना जारी गरी १४ साउनदेखि २२ साउनसम्म विद्युतीय राहदानीसम्बन्धी सेवा दुई सिफ्टमा सञ्चालन गर्ने जनाएको थियो।
विभागका अनुसार पहिलो सिफ्ट बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म र दोस्रो सिफ्ट दिउँसो २ बजेदेखि बेलुकी ९ बजेसम्म सञ्चालन हुनेछ।
त्यस्तै, शनिबार, आइतबार तथा अन्य सार्वजनिक बिदाका दिनसमेत विद्युतीय राहदानीसम्बन्धी सेवा सञ्चालन गरिने विभागले जनाएको छ। सार्वजनिक बिदाका दिन बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म सेवा उपलब्ध गराइनेछ।
ईपीएसका लागि आवेदन दिने सेवाग्राहीको चापका कारण राहदानी सेवामा समेत भीड बढेपछि समयमै सेवा प्रवाह गर्ने उद्देश्यले अतिरिक्त समय र दुई सिफ्टमा सेवा सञ्चालनको व्यवस्था गरिएको विभागले जनाएको छ।
दक्षिण कोरिया रोजगारीका लागि आवश्यक प्रक्रिया अघि बढाउन पासपोर्ट अनिवार्य रहेकाले ईपीएस आवेदनको समय नजिकिँदै गर्दा राहदानी विभागमा सेवाग्राहीको चाप अझ बढेको हो।




