spot_img

मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशाला पूर्ण क्षमतामा, दैनिक ५ सयभन्दा बढीको स्वास्थ्य परीक्षण

spot_img
spot_img

जनकपुर,१४ साउन । मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशाला पूर्ण क्षमतामा सञ्चालनमा आएपछि सर्वसाधारणले निजी प्रयोगशालाको तुलनामा न्यून शुल्कमा विभिन्न स्वास्थ्य परीक्षण गराउन पाएका छन्।

बोलपत्र प्रक्रियामार्फत आवश्यक औषधि तथा केमिकल खरिद भएपछि प्रयोगशालाले केही महिनादेखि पूर्ण क्षमतामा सेवा सञ्चालन गर्दै आएको हो। हाल प्रदेश सरकारद्वारा सञ्चालित प्रयोगशालाबाट दैनिक पाँच सयभन्दा बढी सेवाग्राहीले स्वास्थ्य परीक्षण गराउँदै आएका छन्।

मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त निर्देशक डा. नागेन्द्र यादवका अनुसार प्रयोगशालाले हाल २५६ प्रकारका स्वास्थ्य परीक्षण सेवा उपलब्ध गराउँदै आएको छ।

२०७८ कात्तिक १५ गते स्थापना भएको प्रयोगशालाले मधेस प्रदेशका आठवटै जिल्लाका १३६ स्थानीय तहमा जनस्वास्थ्य प्रयोगशाला सञ्चालन गरी सेवा दिँदै आएको छ।

डा. यादवका अनुसार आर्थिक वर्ष २०८२/८३ मा जनकपुरधामस्थित प्रयोगशाला तथा स्थानीय तहमा सञ्चालित प्रयोगशालाबाट गरी ८ लाख ५५ हजार ५८२ जनाको स्वास्थ्य परीक्षण गरिएको छ।

जसमध्ये जनकपुरधामस्थित प्रयोगशालाबाट २ लाख ३ हजार ५८७ जना र स्थानीय तहमा सञ्चालित जनस्वास्थ्य प्रयोगशालाबाट ६ लाख ५१ हजार ९९५ जनाको स्वास्थ्य परीक्षण गरिएको हो।

स्वास्थ्य परीक्षणबाट प्रयोगशालाले आर्थिक वर्ष २०८२/८३ मा कुल ४ करोड ७६ लाख ५२ हजार ८७ रुपैयाँ राजस्व संकलन गरेको छ। जनकपुरधामस्थित प्रयोगशालाबाट २ करोड ७५ लाख ५२ हजार ५२२ रुपैयाँ र स्थानीय तहमा सञ्चालित प्रयोगशालाबाट २ करोड ९९ हजार ५६५ रुपैयाँ राजस्व संकलन भएको डा. यादवले जानकारी दिए।

प्रयोगशालाले ज्येष्ठ नागरिक तथा दीर्घरोगीलाई स्वास्थ्य परीक्षण शुल्कमा ९० प्रतिशतसम्म र अपाङ्गता भएका व्यक्तिलाई ५० प्रतिशत छुटसमेत दिँदै आएको जनाएको छ।

त्यस्तै, प्रयोगशालाले सञ्चालनमा ल्याएको ‘इन्टिग्रेटेड’ सेवा प्रणालीले सेवाग्राहीलाई एउटै स्थानबाट विभिन्न प्रकारका स्वास्थ्य परीक्षण गराउने सुविधा दिएको छ।

सरकारी स्वास्थ्य संस्थामा एउटै परीक्षणका लागि बिरामीले विभिन्न शाखा धाउनुपर्ने अवस्था रहँदै आएकोमा एकीकृत सेवा प्रणालीले सेवाग्राहीलाई सहज बनाएको स्थानीयको भनाइ छ। उनीहरूले सरकारी स्वास्थ्य सेवामा यस्तो व्यवस्था सेवामैत्री सुधारको उदाहरण भएको बताएका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय