सिरहा,१४ साउन । सुरक्षा अवस्था तनावपूर्ण बनेपछि जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार नगरपालिकाका विभिन्न क्षेत्रमा बिहीबार दिउँसो २ बजेदेखि लागू हुने गरी अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।
जिल्ला प्रशासनका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत गोलबजार नगरपालिका–३ को कसहा खोलादेखि पश्चिमतर्फ चोहर्वा चोकसम्मको क्षेत्रलाई कर्फ्युको सीमाभित्र राखिएको छ। त्यस्तै, उत्तरतर्फ वडा नं. ६ को सैनिक चोकदेखि दक्षिणमा वडा नं. ४ स्थित क्याम्पस आसपाससम्मको क्षेत्रमा पनि कर्फ्यु लागू गरिएको छ।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले अर्को आदेश नभएसम्म कर्फ्यु जारी रहने जानकारी दिएका छन्।
कर्फ्यु आदेश उल्लङ्घन गरी कुनै पनि गतिविधि सञ्चालन गर्ने वा शान्ति सुरक्षामा बाधा पुर्याउने कार्य गरे प्रचलित कानुनबमोजिम कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ।
प्रशासनले जिल्लामा शान्ति, सुरक्षा तथा सामाजिक सद्भाव कायम राख्न सबै नागरिकलाई संयमित हुन र प्रशासनलाई सहयोग गर्न आग्रह गरेको छ।
यसअघि सुनसरीको देवानगञ्जमा भएको घटनाको विरोधमा गोलबजार क्षेत्रमा बिहीबार बिहानैदेखि युवाहरूले सडकमा टायर बालेर प्रदर्शन तथा सडक अवरुद्ध गरेका थिए। प्रदर्शनका कारण क्षेत्रको यातायातसमेत प्रभावित भएको थियो।
स्थिति थप तनावपूर्ण बन्न सक्ने आकलनपछि प्रशासनले गोलबजारका संवेदनशील क्षेत्रलाई कर्फ्युको दायरामा ल्याएको हो।




