काठमाडौं,१४ साउन । नेकपा (एमाले)की सचिव पद्माकुमारी अर्यालले सरकारले लोकसेवा आयोगमार्फत हुने पदपूर्ति प्रक्रिया अवरुद्ध गरेको भन्दै तत्काल खुला प्रतिस्पर्धा पुनः सञ्चालन गर्न माग गरेकी छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै अर्यालले लोकसेवा परीक्षाको तयारीमा रहेका हजारौं युवाको भविष्य अन्योलमा परेको बताइन्। उनले सरकारले युवालाई रोजगारी, प्रतिभाको सम्मान र अवसरको कुरा गरे पनि व्यवहारमा भने खुला प्रतिस्पर्धाको ढोका बन्द गरेको आरोप लगाइन्।
अर्यालले लोकसेवा बन्द गरिनु योग्य र सक्षम युवामाथिको अन्याय भएको उल्लेख गर्दै सरकारको निर्णयप्रति गम्भीर असन्तुष्टि व्यक्त गरिन्।
‘के यो देशका दक्ष र बौद्धिक नागरिकहरू यही देशमा नबसून् भन्ने सरकारको आशय हो?’ भन्दै उनले सरकारलाई प्रश्न गरिन्। उनले युवाको क्षमता र मेहनतलाई सम्मान गर्न लोकसेवा प्रक्रिया तत्काल सुचारु गर्न सरकारसँग आग्रह गरिन्।
उनले सरकारले युवामैत्री भएको दाबी गरे पनि व्यवहारमा प्रतिभावान युवाको भविष्य अन्योलमा पार्ने काम गरेको भन्दै लोकसेवा खुलाउन ढिलाइ नगर्न सरकारलाई चेतावनीसमेत दिइन्।




