जनकपुर,१४ साउन । महोत्तरीको बर्दिबासमा प्रहरीले विशेष सूचनाको आधारमा गरेको सघन चेकजाँचका क्रममा ४५४ किलोग्राम गाँजासहित एक मिनीट्रक चालकलाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय बर्दिबास, लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबास र ट्राफिक प्रहरीको संयुक्त टोलीले बुधबार अपराह्न बर्दिबास नगरपालिका–३ गौरीडाँडास्थित अस्थायी ट्राफिक प्रहरी पोस्ट अगाडि चेकजाँच गरेको थियो।
सो क्रममा सिन्धुलीबाट बर्दिबासतर्फ आउँदै गरेको बा ४ ख ५६९२ नम्बरको मिनीट्रकको छतमा नक्कली तह (फल्स बटम) बनाएर प्लास्टिकमा प्याक गरी लुकाइएको ६० वटा प्याकेट गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।
मान्यता प्राप्त तराजुबाट तौल गर्दा बरामद गाँजाको कुल तौल ४५४ किलोग्राम रहेको इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी गुरुप्रसाद तिमिल्सिनाले जानकारी दिए।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ललितपुरको गोदावरी नगरपालिका–२, त्रिवेणी निवासी २७ वर्षीय चालक विश्व तामाङलाई पक्राउ गरेको छ।
बरामद गाँजा कहाँबाट ल्याइएको र कहाँ पुर्याउने तयारी थियो भन्ने विषय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको तथा लागुऔषध तस्करीको सञ्जालबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।




