बीरगन्ज,१४ साउन । भारत–नेपाल सीमावर्ती क्षेत्रमा सशस्त्र सीमा बल (एसएसबी) ले अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरिएको ठूलो परिमाणको खाद्यान्न तथा पेय पदार्थसहित ६ जना नेपाली नागरिकलाई नियन्त्रणमा लिएको छ।
एसएसबीका अनुसार सीमाक्षेत्रमा नियमित गस्ती गरिरहेको टोलीले शंकास्पद गतिविधि देखेपछि जाँच गर्दा उनीहरूबाट तस्करीका सामान बरामद गरेको हो। सामानसहित नेपाल प्रवेश गर्न खोजिरहेका व्यक्तिहरूले सुरक्षाकर्मी देखेपछि भाग्ने प्रयास गरे पनि उनीहरूलाई नियन्त्रणमा लिइएको जनाइएको छ।
बरामद सामग्रीमा ६५० किलो चिनी, ७२ प्याकेट चाउचाउ, १.५ लिटरका १०५ बोतल माउन्टेन ड्यू तथा कोक, विभिन्न ब्रान्डका चिप्स, २५० एमएलका ७२ वटा रेड बुल, ७८ किलोभन्दा बढी चामल, रिफाइन्ड तेल तथा तोरीको तेललगायतका दैनिक उपभोग्य सामग्री रहेका छन्।
एसएसबीका अनुसार पक्राउ पर्ने सबै पर्सा जिल्लाका बासिन्दा हुन्। पक्राउ पर्नेमा स्वर्णपुर–५ का २७ वर्षीय रोमन सापकोटा, २३ वर्षीय शिशिर उप्रेती, ५० वर्षीय जारी तामाङ, विजयबस्ती–४ का २३ वर्षीय सञ्जय गोले, ३५ वर्षीय बालबहादुर श्रेष्ठ र स्वर्णपुर बस्ती–५ का ४५ वर्षीय फुर्बा स्याङ्देन रहेका छन्।
प्रारम्भिक अनुसन्धानमा बरामद सामान भारतबाट नेपालतर्फ अवैध रूपमा ल्याई बिक्री वितरण गर्ने उद्देश्यले ओसारपसार गरिएको हुन सक्ने देखिएको एसएसबीले जनाएको छ। पक्राउ परेका व्यक्ति र बरामद सामग्रीमाथि थप कानुनी प्रक्रिया अघि बढाइएको भारतीय सुरक्षा स्रोतले जानकारी दिएको छ।
सीमावर्ती क्षेत्रमा पछिल्लो समय दैनिक उपभोग्य वस्तुको अवैध ओसारपसार बढेको भन्दै भारतीय तथा नेपाली सुरक्षा निकायले सीमा क्षेत्रमा निगरानी र गस्ती थप कडा बनाउँदै आएका छन्।




