spot_img

सुनसरी घटनाको विरोधमा आह्वान गरिएको बन्दले जनकपुरको जनजीवन प्रभावित

spot_img
spot_img

जनकपुर,१४ साउन । सुनसरीमा भएको हिंसात्मक घटनाको विरोध गर्दै ‘हिन्दु सम्राट नेपाल’ले आह्वान गरेको बन्दका कारण बिहीबार जनकपुरधामको जनजीवन प्रभावित भएको छ।

बन्दको प्रभाव बिहानैदेखि देखिएको छ। जनकपुरधामका मुख्य बजार क्षेत्र, पसल तथा व्यापारिक प्रतिष्ठानहरू बन्द रहेका छन्। संगठनले यसअघि नै जनकपुरधाम उद्योग वाणिज्य संघ तथा स्थानीय व्यवसायीहरूलाई बजार बन्द गरी घटनाप्रति ऐक्यबद्धता जनाउन आग्रह गरेको थियो।

आह्वानअनुसार जनक चोक, शिव चोक, कदम चोक, रामानन्द चोक, भानु चोकलगायत प्रमुख व्यापारिक क्षेत्रमा अधिकांश पसलहरू बन्द छन्। केही खुलेका पसलहरू पनि संगठनका कार्यकर्ताले बजार अनुगमन गर्दै बन्द गराएको स्थानीय व्यवसायीहरूले बताएका छन्।

संगठनले सुनसरी घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पीडित परिवारलाई न्याय दिन सरकारसँग माग गरेको छ। घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न पनि सरकारलाई आग्रह गरिएको छ।

बन्दका क्रममा सुरक्षा चुनौती बढ्न सक्ने भन्दै स्थानीय प्रशासनले जनकपुरधामका संवेदनशील क्षेत्रमा सुरक्षा सतर्कता बढाएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरू विभिन्न स्थानमा परिचालन गरिएको छ।

बजार, यातायात तथा दैनिक गतिविधिमा असर परे पनि हालसम्म जनकपुरधाम क्षेत्रमा कुनै अप्रिय घटना भएको जानकारी प्राप्त नभएको प्रहरीले जनाएको छ। प्रशासनले शान्ति–सुरक्षा कायम राख्न निरन्तर निगरानी गरिरहेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय