जनकपुर,१४ साउन । प्रदर्शन चर्किएपछि जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधामसहित जिल्लाका विभिन्न क्षेत्रमा बिहीबारदेखि कर्फ्यु आदेश जारी गरेको छ। धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार बिहीबार दिउँसो साढे ३ बजेदेखि लागू हुने गरी अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको हो।
प्रशासनले जनकपुरधाम उपमहानगरपालिकाको सम्पूर्ण क्षेत्रसहित लक्ष्मीनियाँ गाउँपालिका र नगराइन नगरपालिकाका विभिन्न स्थानलाई कर्फ्युको दायरामा राखेको छ।
प्रदर्शनका क्रममा सुरक्षा अवस्था थप तनावपूर्ण बन्न सक्ने अवस्था देखिएपछि शान्ति सुरक्षा कायम गर्न कर्फ्यु आदेश जारी गरिएको प्रशासनले जनाएको छ।
प्रशासनले कर्फ्यु अवधिमा कुनै पनि प्रकारका प्रदर्शन, सभा, जुलुस तथा आवतजावत गरी शान्ति सुरक्षामा असर पर्ने गतिविधि नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।




