spot_img

मधेशका रास्वपा सांसदले रविलाई भेटेर गृहमन्त्रीमाथि उठाए प्रश्न

spot_img
spot_img

काठमाडौं,१४ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मधेश प्रदेशका सांसदहरूले गृहमन्त्री सुधन गुरुङको भूमिकाप्रति असन्तुष्टि जनाउँदै पार्टी सभापति रवि लामिछानेसँग गुनासो गरेका छन्।

मधेशमा पछिल्लो समय बढ्दै गएको तनावपूर्ण अवस्थाबारे सभापति लामिछानेसँग भएको छलफलमा सांसदहरूले गृहमन्त्री गुरुङले सम्बन्धित क्षेत्रका सांसदहरूसँग समेत आवश्यक समन्वय नगरेको भन्दै प्रश्न उठाएका हुन्।

छलफलमा सहभागी एक सांसदका अनुसार सुनसरीको देवानगञ्जबाट सुरु भएको घटनाक्रम मधेशका विभिन्न क्षेत्रमा समेत फैलिँदै जाँदा गृह मन्त्रालयको भूमिका प्रभावकारी नदेखिएको भन्दै सभापति लामिछानेको ध्यानाकर्षण गराइएको थियो।

‘सुनसरीबाट सुरु भएको घटना अहिले मधेशमा फैलिएको छ। त्यहाँका जिल्लाका सांसदसँग गृहमन्त्रीले कुराकानीसमेत गर्नुभएको छैन। हामीले सभापतिसँग गृहमन्त्रीप्रतिको आक्रोश राख्यौं,’ ती सांसदले भने।

सांसदहरूले घटनाको संवेदनशीलतालाई ध्यानमा राख्दै सरकारले तत्काल प्रभावकारी समन्वय र पहल गर्नुपर्ने बताएका थिए।

जवाफमा सभापति लामिछानेले पछिल्लो घटनाक्रमप्रति आफू गम्भीर र संवेदनशील रहेको बताएका थिए। उनले सामाजिक सद्भाव कायम राख्न आवश्यक पहल गर्ने बताउँदै अवस्था थप जटिल बनेमा आफू स्वयं मधेश जाने विषयमा समेत छलफलमा बताएका थिए।

सुनसरीको घटनापछि विभिन्न जिल्लामा तनाव र प्रदर्शन बढिरहेका बेला रास्वपाभित्रै सरकारको सुरक्षा व्यवस्थापन तथा गृहमन्त्रीको भूमिकालाई लिएर प्रश्न उठेको हो।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय