वीरगन्ज,१४ साउन । चार दिनदेखि बन्द रहेको वीरगन्जका अस्पतालहरूको उपचार सेवा पुनः सञ्चालनमा आएको छ। नारायणी अस्पतालमा बुधबार राति ९ बजेदेखि आकस्मिक सेवा सुरु गरिएको थियो भने बिहीबार बिहानदेखि ओपीडी सेवा पनि नियमित रूपमा सञ्चालनमा आएको अस्पतालका प्रवक्ता डा. उदयनारायण सिंहले जानकारी दिए।
गत शनिबार नारायणी अस्पतालमा भएको तोडफोड तथा चिकित्सकमाथिको कुटपिट घटनाको विरोधमा नारायणी अस्पतालसहित वीरगन्जका अस्पतालका चिकित्सकहरूले आइतबारदेखि आकस्मिक सेवासमेत बन्द गर्दै आन्दोलन थालेका थिए।
बुधबार काठमाडौंमा स्वास्थ्य मन्त्रालय र नेपाल चिकित्सक संघबीच पाँच बुँदे सहमति भएपछि सेवा पुनः सञ्चालन गर्ने वातावरण बनेको हो। साथै, नारायणी अस्पताल घटनामा संलग्न व्यक्तिहरूविरुद्ध अस्पताल प्रशासन र नेपाल चिकित्सक संघ नारायणी शाखाले दिएको किटानी जाहेरी प्रहरीले दर्ता गरेपछि चिकित्सकहरूले आन्दोलन स्थगित गर्दै काममा फर्किने निर्णय गरेका हुन्।
प्रवक्ता डा. सिंहका अनुसार घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कानुनी कारबाही गर्ने प्रतिबद्धता प्रहरी प्रशासनबाट प्राप्त भएपछि अस्पतालको सम्पूर्ण सेवा पुनः सञ्चालन गरिएको हो।
यसैबीच, नारायणी अस्पताल तोडफोड तथा चिकित्सकमाथि कुटपिट घटनामा संलग्न रहेको आरोपमा प्रहरीले वीरगन्ज–२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीसहित तीन जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।
उता, आन्दोलनरत चिकित्सकसँग जिल्ला प्रशासन कार्यालयमा भएको वार्ताका क्रममा दुर्व्यवहार गरेको आरोप लागेका पर्साका तत्कालीन प्रहरी उपरीक्षक सुदीपराज पाठकलाई प्रहरी प्रधान कार्यालयले मुख्यालय तानेको छ। उनको स्थानमा प्रहरी उपरीक्षक पवन कुमार भट्टराईलाई बुधबार साँझदेखि पर्साको जिम्मेवारी दिइएको छ।
गत शनिबार उपचारका क्रममा वीरगन्ज–२५ का राजकुमार पटेलको मृत्यु भएपछि आक्रोशित आफन्त तथा स्थानीयले नारायणी अस्पतालमा तोडफोड गर्नुका साथै मेडिकल अफिसर डा. प्रमोद राममाथि कुटपिट गरेका थिए। उक्त घटनाको विरोधमा वीरगन्जका चिकित्सकहरूले आइतबारदेखि तथा देशभरका चिकित्सकहरूले मंगलबारदेखि उपचार सेवा अवरुद्ध पार्दै आन्दोलन गरेका थिए।




